Ultimate magazine theme for WordPress.

अबको वीरगन्ज कस्तो?

232

स्थानीय तहको निर्वाचनको मिती नजिकिदै जाँदा वीरगन्जको आगामी नेतृत्वको बारेमा नगरवासीमाझ चाँसो र चर्चा बढ्दो छ । माहानगर वीरगन्जको नेतृत्वमा को र कस्तो ब्यक्ति हुने भन्ने तय गर्नु अगाडी केही कुरा विचार गर्न जरुरी छ । विकासका योजना र स्थानीय तहको मुद्दामा के के हुन, यसको सम्बोद्धन गर्ने माध्यम को बन्न सक्छ, साकारात्मक परिवर्तनको अनुभुति दिन सक्ने नयाँ अनुहार चाहिन्छ कि पुरानोलाई नै विश्वास गरी जलप लगाएर काम चलाउने जस्ता कुराहरु विचारणीय छ । यसै सन्दर्भमा हामीले आगामी वीरगन्ज कस्तो बनाउनु पर्छ भन्ने तिर सार्वजनिक बहस यस चुनावको मुखमा अझै मुखर गर्न यो आलेख पस्केको हुँ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को पहिलो स्थानीय तह निर्वावचन ऐतिहासिक किन छ भने राष्ट्रिय राजनीतिमा मधेसप्रति प्रतिकुल भावना देखिए पनि निर्वाचनको चुनौति स्विकार गरेर यसमा होमिनु परेको छ । भौगोलिक अवस्थिती र यस ठाउँको विशिष्ठता अनुसार वीरगन्ज माहानगरका समस्या तथा विकासका मुद्दाहरु पनि आफ्नै किसिमका र विशिष्ठ खाले छन । त्यसकारण सापेक्षित रुपमा वीरगन्जको बृहत्तर विकास, जनताको शुख–सुविधा र नगरवासीको मानवीय विकासका लागि हामीले हाम्रा चुनौति र मुद्दाहरुलाई सुक्ष्म ढँगले केलाउदै वीरगन्जको उन्नतीको र बिशिष्ठ पहिचानको मार्ग पहिल्याउन सक्नु पर्छ ।

मुख्य रुपमा अबको समृद्ध, समुन्नत र सुख–सुविधायुक्त वीरगन्ज बनाउनका लागि गर्नुपर्ने कार्यलाई दुई चरणमा बिभाजन गरेर योजनाहरु तय गरिनु पर्छ । पहिलो, वीरगन्जले भोगिआएका समस्याहरुलाई सूचीकृत गरी नगरवासी जनताले तुरुन्त साकारात्मक परिवर्तनको सुखद अनुभुति गर्ने खालको निराकरणका उपायहरु कार्यन्यवनमा काम गर्नु पर्ने हुन्छ । यसमा तत्काल नीतिगत निर्णयहरु, सेवा प्रदान गर्ने कार्यमा चुस्त दुरुस्त तथा सेवाग्रहीमैत्री बाताबरण निर्माण र पुर्वाधारहरुमा भौतिक सुधारका कामहरु गर्नुपर्ने हुन्छ । दोस्रो नयाँ विकासका योजनाहरु तय गरेर प्राथमिक्ता निर्धाण गर्दै कार्यन्यवन सूची तय गर्नुपर्ने हुन्छ ।

अरु ठाउँभन्दा केही समय ढिलै भए पनि सरकारद्वारा वीरगन्जलाई महानगर घोषणा गरिएको छ । यहाँको सडकसंजाललाई माहानगरस्तरीय बनाउन पुराना सडकहरुको स्तरोन्नती र नयाँ सडकका योजनाहरु ल्याउन जरुरी छ । बजार क्षेत्रमा अत्याधीक जामको समस्या र बजार बाहिरका क्षेत्रहरुमा सडकै नहुनुले समस्या छ । अझ नाला बिना बनेका सडक पानी लागेर दुखदायि बन्ने गरेका छनु । सुक्खा याममा धुलाम्य र बर्षातमा हिलाम्य रह्ने सडकबाट मुक्ति स्थानीय जनाले चाहेका छन् ।

उसै पनि देशको प्रमुख नाका भएकोले ठुलो संख्याको यातायात संचालन हुने यस ठउँमा सडक अपुग छ । यातायातको बढ्दाने चाप र आउदो भविश्यको पुस्ताको आवश्यत पुर्तीका लागि वीरगन्जमा चक्रपथ बनाउन जरुररी छ ।  सिर्सिया नदीको छेउमा बनाउन भनिए पनि कुरैमा सिमित भएको सिर्सिया करिडोरले सहरको यातायात संचालनलाई ब्यवस्थापन गर्न अर्को महत्वपुर्ण योजना हुनेछ । मेनरोड र दुई वटा बाइपास बाहेक उतर–दक्षिण ४ वटा परस्पर सडक बनाउनु पर्ने छ । पुर्वपश्चिम आधादर्जन सम्पर्क सडक निर्माण तथा स्तरोन्नतीको योजना तयार गरी लागु गर्दा आवागमनको लागि मुख्य सडकको मात्र निर्भरता हट्ने छ र आम नगरवासीले सुविधा महसुस गर्न सक्ने छन् ।

पुरानो सहरी एरियामा एशियाली विकास बैंकको परियोना चाँडो पूरा गरेर नगरवासीलाई समस्याबाट चाँडो मुक्ति दिलाउने हर सम्भव प्रयास बाकी राख्नु हुदैन् । माहानगरमा गाभिएको नयाँ क्षेत्रमा र पछिल्लो समयमा स्थापीत भएका नयाँ बस्तीहरुमा ब्यवस्थित ढलको निर्माणको योजना अबिलम्ब चाहिएको छ । फोहोर ब्यवस्थापनका लागि बैज्ञानिक प्रणाली विकिसित गर्नुपर्ने छ । अबको वीरगन्ज सफा र स्वच्छ वीरगन्ज समेत होस भन्नेतिर कदम चालिनु पर्ने छ । यसको लागि पुर्वाधार निर्माणसंगै जन स्तरमा जागरुकताका कार्यक्रम पनि संचालन गर्नुपर्ने हुन्छ ।

त्यसतै नगरक्षेत्रका सार्वजनिक स्थल र ऐतिहासिक तथा साँस्कृति सम्पदा र धार्मिकस्थलहरुको संरक्षण गरी नगर आकर्षण बनाउदा सहरको पहिचान र स्थानीय बासिन्दाको लागि गौरवको पाटो हुने छ । यहाँका बिभिन्न पोखरी तथा सार्वजनिक जग्गा छुट्याई प्रस्तावित उद्यान, मनोरञ्जन पार्क, बाल उद्यान निर्माणलाई अगाडी बढाई पुर्णता दिने काम गर्नु पर्ने हुन्छ । तिलावे, सिर्सिया, सिंगहा, कियासुत र बौगी नदीलाई ब्यवस्थित र स्वच्छ बनाउनेतिर नगरको नृतृत्व तह अघि सर्नु पर्ने हुन्छ । त्यसता र हर सम्भव ठाउँहरुमा हरियाली बढाएर सहरको सौन्दर्यकरण बताबरण सन्तुलन गर्दा हराभरा वीरगन्जले मुर्त रुप लिने छ ।

पटक पटक गरी वीरगन्जमा गाभिएका क्षेत्रमा विकासको एकीकृत प्याकेज लैजादा त्यहाँका नागरिकले पनि परिवर्तनको अनुभुति गर्न सक्ने छन् । त्यसता ठाउँहरुलाई तुलनात्मक बढी बजेट व्यस्थापन गरी पुरानो बजार क्षेत्रसंग विकासमा समरुपता कायम गर्नसक्नु पर्छ । यस्ता क्षेत्रमा सहरी पूर्वाधार पु¥याएर सहरीकरणको मूलधारमा समाहित गर्दा एकै ठाउँमा भिडभाड र सवारीसाधनको चाप पनि पर्दैन ।

वीरगन्ज मानवीय विकासमा पछाडी छ । शिक्षा र स्वास्थ्यको अवस्था दयनीय छ । गतिलो अस्पताल छैन । शिक्षाका लागि कि भारत कि काठमाडौं कि अन्यत्र जानेहरुको संख्या यहाँबाट ठुलै हुन्छ । नारायणी अस्पतालको स्तरोन्नति गरी शिक्षण स्पताल बनाउनु पर्ने छ । त्यसतै वीरगन्ज विश्वविद्यालयलगायतका उच्च शिक्षा केन्द्रहरु यहाँ स्थापना गर्न जरुरी छ । यसो गर्दा वीरगन्जलाई शिक्षा र स्वास्थ्यको हब बनाउन सकिन्छ । साँथै पोलिटेक्नी इन्सिटिच्युट स्थपना गरी स्थानीय तह मैं इन्जिनियरिङ लगायतको प्राविधिक शिक्षा गुणस्तरीय किपसिमको उपलब्ध गराउन नगरको नेतृत्व तहले अग्रसरता लिनु पर्छ ।

ब्यपार र उद्योगको क्षेत्रका समस्याहरु सामाधान गरी स्थानीय स्तरमा रोजगारीको बाताबरण र उद्यमशीलता अभिबृद्धी गर्न सकिन्छ । सपिङ मल र कम्प्लेक्स निर्माणलाई बढावा दिएर सहरवासी र आउने आगन्तुकहरुलाई माहानगरीय परिवेस दिएर आय–आर्जनको माध्यममा टेवा पुर्याउन सकिन्छ । सवारी साधनलाई राख्न मुख्य मुख्य एरियामा पार्किङस्थल निर्माण गर्नु पनि जरुरी छ । वीरगन्ज भनेको कृषीमा आधारित ग्रामिण क्षेत्रको बजार पनि हो । यसलाई अझ भरपर्दो बनाउन  कृषि उपज तथा तरकारीको थोक बजार स्थपना र संचालन गर्नु पर्ने छ ।

स्थानीय निकायबाट दिइने सेवालाई प्रभावकारी, पारदर्शी, र भ्रष्टाचारमुक्त बनाएर सुशासनको अनुभुति प्रदान गर्ने कार्य प्राथमिक्तामा पर्नु पर्ने छ । विकास निर्माणको काममा गुणस्तरलाई प्राथमिकतामा राख्ने, नगरको विकासमा स्थानीय सहभागिता र साझेदारीलाई बढावा दिने जस्ता कार्यशली अपनाउनु पर्ने हुन्छ । वीरगन्जलाई प्रविधियुक्त स्मार्टसिटीको रुपमा विकास गर्ने, सञ्चार र इन्टरनेटको उपयोगलाई सघन तुल्याउनका निम्ति सरोकारका निकाय र पक्षसित सहकार्य गर्ने कार्य पनि नगर नेतृत्वको अभिभारा हुनुपर्छ । यहाँ एउटा अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको स्थपनाको स्थानीय चाहनालाई पुरा गर्न सक्नु पर्छ ।

मुलुककै मुख्य प्रवेशद्वारमा रहेको सहर भएकाले यसको सम्भाव्यताको उपभोगमा कुनै कसर बाँकी राख्नु हुदैन । सहरलाई कोलाहलमुक्त र ढुवानीलाई अवरोधमुक्त बनाउन बेग्लै ट्रन्सपार्ट नगर निर्माण गर्न जरुरी छ । र, आफुले घोषणा गरेको कार्यसूचीमा नगरका जनताको नियन्त्रण र निगारानी सूनिश्चित गराई वीरगन्ज माहानगरलाई वास्तविक रुपमा लोकतान्त्रिक नगर बनाउने नगरको आगामी नेतृत्वलाई हेक्का हुनु पर्दछ । प्राथमिक रुपमा यि कार्यहरुलाई गर्दै आगामी योजना नगरवासीको चाहना अनुरुप अगाडी बढाई वीरगन्जलाई सम्मुन्नत र नागरिकमैत्री बनाउने शुभारम्भ हो आगामी स्थानीय तहको निर्वाचनमार्फत वीरगन्जको नयाँ नेतृत्व चयन । साभार : प्रतिक दैनिक

(लेखक संघीय समाजवादी फोरम नेपालका मधेस प्रदेशका कोषाध्यक्ष हुन् ।)

Leave A Reply

Your email address will not be published.