दिपेन्द्र गिरी ।
वीरगंज २१, पौष ।
सूचना तथा प्रविधिको क्षेत्रमा कार्यरत कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को आयोजनामा आगामी माघ ९ गतेदेखी १३ गते सम्म वीरगञ्जको टाउन हलमा दोस्रो आई टी मेला हुने भएको छ । क्यान महासंघले गत वर्ष आयोजना गरेको ४ दिने आई टी मेलाको सफलता सँगै यस वर्ष पनि इन्फोटेकमा नेपालको सूचना, प्रविधि र मनोरञ्जन एवम् विश्वमा पछिल्लो समय विकास भएको प्रविधि सम्बन्धि प्रदर्शनी गराउने अभिप्रायले आई टी मेलाको आयोजना गर्न लागेको हो ।
नेपालमा आई टी को बारेमा चेतना जगाउन, उद्योग तथा उद्यमीहरुको आवश्यक्ता थाहा पाउनुका साथै भिजिट नेपाल २०२० लाई पनि सहयोग पु¥याउने अभिप्रायले मेलाको आयोजना गर्न लागिएको वीरगञ्जको अन्नपुर्ण होटेलमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । क्यान सन् २०१५ मा कम्पुटर एशोसिएशन नेपाल महासंघमा रुपान्तरित भए पश्चात हाल देशभरी ७ प्रदेश समिति र ५८ जिल्ला शाखाको रुपमा क्यान महासंघ फैलिएको छ ।
क्यान महासंघ पर्साका अध्यक्ष दिपक साहको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा क्यान महासंघ प्रदेश न. २ का अध्यक्ष आलोक कुमार चौरासिया, क्यान महासंघका केन्द्रिय सदस्य भुपाल दास श्रेष्ठ, क्यान बाराका अध्यक्ष गणेश ठाकुर, क्यान पर्साका उपाध्यक्ष प्रशान्त कुमार, सचिब जिवन प्रकाश गुप्ता, बाराका सचिब संजय केशरी, संजय कुर्मी लगायत संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । मेलामा सुचना तथा प्रविधि सम्बन्धि निर्मीत वस्तु तथा सामानहरुका साथै आईटी कलेजका विद्यार्थीद्वारा निर्मीत प्रोजेक्टहरु पनि प्रदर्शनीका लागि राखिने छ ।
त्यसैगरी रोबोटिक्स तथा सफ्टवेयर प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ । आई टी मेलामा प्रदेश न. २ का ८ वटै जिल्लाका साथै अन्य प्रदेश तथा केन्द्रिय राजधानी काठमाण्डौबाट पनि सहभागिता जनाउने हुँदा यस वर्ष ५० हजार बढीले आईटी मेला अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ । वीरगञ्जमा सम्पन्न भइसकेपछि अन्य प्रदेशमा पनि आईटी मेलाको आयोजना गर्न लागेको सो पत्रकार सम्मेलनमा बताइएको थियो । कार्यक्रमको सहजिकरण क्यान महासंघ पर्साका सदस्य एवम् पत्रकार आँशु सर्राफले गर्नुभएको थियो ।