Ultimate magazine theme for WordPress.

विमानस्थलमा कार्यरत प्रहरी कर्मचारी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुनुपर्ने : प्रहरी महानिरीक्षक

264

काठमाडौं, ३० साउन / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीहरूले यात्रुहरुसँग अझै सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गरी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरको बिहीबार आकस्मिक निरीक्षणको क्रममा प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीलाई लगनशील, निष्पक्ष र निस्वार्थ भई बहन गर्न निर्देशन दिनुभयो । सो क्रममा प्रहरी महानिरीक्षक खनालले विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु खटिएकै ठाउँमा पुगेर उनीहरुले गरिरहेका यात्रु सुरक्षा जाँच, लगेज स्क्रिनिङ लगायतका हवाई सुरक्षासँग सम्बन्धित प्रहरीले गरिरहेका काम कारबाही अवलोकन गर्नुभयो । साथै कार्यालयमा प्रयोग भइरहेका सुरक्षा उपकरण र साधन स्रोतबारे उहाँले जानकारी समेत लिनुभयो ।
प्रहरी महानिरीक्षक खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीसँग भेटघाट गरी विमानस्थलमा सुरक्षालाई अझ प्रभावकारी बनाउनका लागि सुधार गर्नुपर्ने पक्षका बारेमा छलफल समेत गर्नुभयो । उक्त अवसरमा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुर्यप्रसाद उपाध्याय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री समेतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.