सत्तारुढ दल र मधेसी मोर्चाबीच बालुवाटारमा बैठक

काठमाडौं, माघ १७ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको अहिले बिहान मधेसी मोर्चासँग छलफल जारी छ। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक, स्थानीय निकायको निर्वाचन आदि विषयमा छलफल हुने बताइएको छ।

स्थानीय निकायको निर्वाचन अनिश्चित हुँदा संविधान कार्यान्वयनमा जटिलता आउने र प्राप्त उपलब्धि गुम्ने भएकाले पछिल्ला दिनमा प्रधानमन्त्री दाहालले मधेसी मोर्चासहित विपक्षीलाई सहमतिमा ल्याउने प्रयासमा छन्।

मधेसकेन्द्रित दलले उठाएका पूरा गर्न सकिने मागमा सकारात्मक हुँदै सहमति जुटाउने गृहकार्य भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेताहरु प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरु उपस्थित छन्।

Comments (0)
Add Comment