वीरगंजको चिकेन स्टेशनले गाइको मासु विक्री हुने विज्ञापन गरेपछि हडकम्प

पर्सा १३ चैत । बीरगंज महानगरपालिका वडा नं. ६ लोहरपट्टी गल्लीमा रहेको एक होटलमा नेपालको राष्ट्रिय जनावर एवं हिन्दू समुदायले आमाको रुपमा पूजा गर्ने गाईको मासु विक्रि वितरण भईरहेको आफ्नो आधारिक फेसबुक पेजमा प्रचार प्रसार गरेपछि वीरगंजमा हडकम्प मच्चेको छ । वीरगंजको चिकेन स्टेशन रेस्टुरा (होटल)मा गाइको मासु विक्री हुने विज्ञापन राखेपछि हाल हिन्दू समाज तथा सामाजिक सञ्जालमा होटललाई बायकट गर्ने अभियान सुरु भएको हो ।
रेस्टुराले आफ्नो आधिकारीक फेसबूक पेजबाट आपत्तीजनक पोस्ट सेयर गरेपछि बीरगंजमा स्थानीय युवाले सामाजिक सञ्जाल मार्फत चिकेन स्टेशनका सञ्चालकहरुमाथि कानूनी कारवाही गर्न माग गरिरहेका छन् । चिकेन स्टेशनले रमजानको अवसरमा फेसबूक मार्फत ‘बीफ कबाब’ मा १० प्रतिशत छुटको विज्ञापन राखेको थियो । रेस्टुराले आफ्नो फेसबूक पेजबाट उक्त विज्ञापन हटाएर भूलवस राखिन गएको भन्दै माफी पनि मागिसकेको छ । तर विज्ञापनको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा युवाहरुले रेस्टुरालाई बायकट गर्न र सञ्चालकहरुमाथि कानूनी कारवाही गर्न माग गरिरहेका छन् ।
युवाहरुले रेस्टुराको पोस्टलाई हिन्दू धर्म माथि प्रहारको संज्ञा दिएका छन् । ‘हामीले आमा सम्मान दर्जा दिएको गौ माताको मासू विक्री गर्ने रेस्टुराले भूलवस भनेर पन्छिन पाउदैन’, सामाजिक सञ्जालमा युवाहरुले, ‘यो हाम्रो धर्म माथि प्रहार भन्दै नारा समेत लगाएका छन । रेस्टुराको सञ्चालकहरुमाथि कडा कारवाही हुनुपर्छ भन्दै चिकेन स्टेशनलाई बायकट गरौं भन्दै नारा लगाएका थिए ।’ सो विषयलाई लिएर युुवाहरुले आईतवार होटल अगाडि पुगेर “जय श्री राम”, “हिन्दू धर्मलाई अपमान गर्र्न पाईदैन”, “दोषीमाथि कारवाही गर” लगायतका नाराहरु लगाई होटल बन्द गर्न माग गरेका थिए । यता जिल्ला प्रहरी कार्यालयले रेस्टुरामा छापामारी गरेर त्यहांबाट विभिन्न खाद्या सामग्री जफत गरेको छ ।
बिफ कबाब विक्री भइरहेको जानकारी पाए लगतै पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले रेस्टुरामा छापामारी गर्दै त्यहां रहेका खाद्या सामग्रीको जांच गर्न आदेश दिएका थिए । एसपी शाहका अनुसार छापामारीका क्रममा रेस्टुरांमा विज्ञापनमा भनिएको जस्तो बिफ कबाब अर्थात गाईको मासु फेला नपरेको बताए । सोही विषयलाई लिएर चिकेन स्टेशनका संचालक अरुण झाले सोमवार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गर्दै गल्ती स्विकार गर्दै क्षमायाचना गरेका छन् । साथै आउने दिनमा यस्ता गल्ती दोहरिन नदिने प्रतिबद्धता जनाएका छन् ।

Comments (0)
Add Comment