सामसुङ उपप्रमुख भ्रष्टाचार आरोपमा गिरफ्तार

काठमाडौँ, फागुन ६ : सामसुङ प्रमुख लि कुन ईका छोरा तथा कम्पनीका उत्तराधिकारी जे वाइ लीलाई शुक्रबार भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ। ४८ वर्षी लीलाई सोल डिटेन्सन सेन्टरमा हिरासतमा लिइएको बताइएको छ।

ली दक्षिण कोरियाली संसदले केही समयअघि महाअभियोग लगाएकी राष्ट्रपति पार्क गुएन हाइ सम्मिलत भ्रष्टाचार मुद्दामै जोडिएका छन्। पार्ककी सहयोगी चोइ सुन सिललाई लीले ठूलो रकम घुस खुवाएको आरोप लागेको छ।

लीले चोइसम्बद्ध संगठनहरुलाई तीन करोड ७० लाख डलरभन्दा बढी रकम दिएको र बदलामा सरकारले सन् २०१५ को विवादास्पद सामसुङका दुई एकाइ ‘मर्जर’ लाई समर्थन गरेको आरोप अभियोक्ताहरुले लगाएका छन्।

ली र सामसुङले भने आरोपको खण्डन गर्दै आएका छन्। उनलाई धरौटी दिइने वा नदिइनेबारे कुनै जानकारी दिइएको छैन।

यसलगत्तै सामसुङको सेयरमा गिरावट आएको जनाइएको छ। एजेन्सी

Comments (0)
Add Comment