नयाँ वर्षमा प्रहरीको छड्के नजर : कम उमेरकालाई रक्सी बेचे कारबाही, निगरानीमा १६-२५

काठमाडौं ,पुष १५: कानुनले नाबालिग मानेको १६ वर्षभन्दा कम उमेर समूहकालाई मदिरा बिक्री गर्ने व्यवसायीलाई कारबाहीको तयारी थालिएको छ।

चाडपर्वको बहानामा मदिरा बिक्री गर्ने व्यवसायीसँगै रेष्टुरेन्ट व्यवसायीहरुले उमेर समूह नहेरी कम उमेर समूहका किशोरहरुलाई सहजै मदिरा दिने गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले निगरानी बढाउने र फेला परे कारबाही गर्ने तयारी गरेको हो।

परिसरका एसपी प्रधुम्न कार्कीका अनुसार विशेषत: चाडपर्वमा रेष्टुरेन्ट, कन्सर्टस्थल लगायतका स्थानमा कलिलो उमेर समूहकाहरु समेत हातमा मदिरा बोकेर हिँड्ने गरेकाले नियन्त्रणका लागी निगरानी बढाउने तयारी गरिएको बताए। ‘हाम्रो उद्देश्य व्यवसायमाथि प्रभाव पार्ने होइन,’ उनले पहिलोपोस्टसँग भने, ‘तर व्यवसायको नाममा जे गर्न पनि त भएन।’

कार्कीका अनुसार अंग्रेजी नयाँवर्षमा आयोजना हुने पार्टी, रात्रिकालीन व्यवसाय चल्ने ठमेल, दरबारमार्गका रेष्टुरेन्ट, डिस्कोमा विशेष निगरानी गर्ने तयारी गरिएको छ। यस्ता स्थानमा कम उमेरकालाई मदिरा दिएको फेला परे नियन्त्रणमा लिएर कारबाही गरिने उनले बताए। ‘कानुनले बन्देज गरेको विषयलाई व्यवसायीले पनि ध्यान दिनुपर्‍यो,’ उनले भने, ‘अवज्ञा भए जुन कानुनको उल्लंघन हुन्छ त्यही अनुसार कारबाही हुन्छ।’

नयाँवर्षमा आयोजना हुने कार्यक्रमलाई लक्षित गरेर महानगरीय प्रहरी कार्यालयले उपत्यकामा १ सय १५ वटा स्थानमा प्रहरी खटाउने तयारी गरेको छ। कार्यालयले सादा पोसाकमा समेत प्रहरी खटाउने जानकारी दिइसकेको छ।

यस्तो प्रकृतिको अभियोगमा सार्वजनिक अपराध ऐन अनुसार कारबाही हुने गरेको छ। जस अनुसार धरौटीदेखि एक वर्षसम्मको कैद सजाय, मदिरा बिक्रीको अनुमति पत्र रद्दसम्मको कारबाही हुन सक्छ।
निगरानीमा १६२५ उमेर समूह

सार्वजनिक स्थानमा हुने झगडामा मुख्यगरी १६ देखि २५ वर्ष उमेर समूहकाहरुको संलग्नता बढी हुने गरेको छ। अपराधको प्रकृति र उमेर समूहको विश्लेषणको आधारमा प्रहरीले १६ देखि २५ वर्ष उमेर समुहका माथि समेत निगरानी बढाउने भएको छ।

Comments (0)
Add Comment