तीन दलका नेताको एउटै स्वर, ‘फागुन १४ मै स्ववियु निर्वाचन’

काठमाडौँ, फागुन ४ : फागुन १४ मै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गराउने विषयमा प्रमुख तीन दलका शीर्ष नेता, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी प्रतिनिधिबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँलगायत पदाधिकारी र तीन दल निकटका विद्यार्थी प्रतिनिधिको सहभागिता थियो।

छलफलमा प्रधानमन्त्री दाहालले तोकिएको मितिमा स्ववियु निर्वाचन सम्पन्न गराउन सरकारकातर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाए।

‘स्ववियु निर्वाचन भएपछि स्थानीय तहको निर्वाचनका लागि पनि मनोवैज्ञानिक प्रभाव पार्छ, यसले देश निर्वाचनतिर जाने वातावरण बन्छ, यसैले असहमतिलाई अन्त्य गरी निर्वाचन गरिनुपर्छ’, उनले भने।

काँग्रेस सभापति शेरबहादुर देउवाले फागुन १४ मै स्ववियु निर्वाचन गर्न क्याम्पसमा तालाबन्दी गर्ने समूहलाई खोल्न अनुरोध गरिने र नमाने ताला फोडेर निर्वाचनको प्रक्रिया सुरु गरिने बताए।

एमाले अध्यक्ष ओलीले स्ववियु निर्वाचन सार्दा पार्टीले घोषणा गरेको मेची महाकाली अभियानलाई असर पुग्ने भएकाले फागुन १४ मै चुनाव गरिनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमल्सिनाले जानकारी दिए।

छलफलमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले फागुन १४ मा स्ववियु निर्वाचन गराउने वातावरण बनाइदिन शीर्ष नेतासँग सहयोग माग गरेका थिए। रासस

Comments (0)
Add Comment