केही महिनादेखी बन्द रहेको तस्करीको लाइन बन्कुलबाट पुन: सुचारू

उमेश दुबे
पर्सा, ३ कार्तिक / रौतहटको बन्कुल नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा तस्करी कार्य फस्टाएको छ । तस्कर संगठनहरूले प्रहरीकै सहयोगमा बन्कुल नाकालाइ कमाइ खाने भाडो बनाएका हुन ।
रौतहटको बन्कुल नाका हुँदै छोहडा, मरिच, कस्मेटिक आइटम, हार्डवेयर लगायतको तस्करी हुने गरेको पाइएको छ । रौतहट जिल्लामा केही महिनादेखी बन्द रहेको तस्करी पुन: प्रहरीकै सहयोगमा फस्टाएको हो । स्थानिय प्रहरी चौकी लगायत बोर्डर आउट पोस्टको सहयोगमा मैजिक कारमा तस्करी कार्य फस्टाएको बुझिन्छ ।
रौतहटको बन्कुल नाका हुँदै श्यामसुन्दर, कमलेश, बिजय, सन्जय नामक कुख्यात तस्करहरूले तस्करी कार्यलाइ तिब्रता दिएको बुझिन्छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिने घुमुवा टोलिको आदेशले बन्कुल नाकाबाट तस्करीको कार्य चलाएको एक जना प्रहरी श्रोतले आफ्नो नाम नछाप्ने सर्तमा बताएका छन । केही महिनादेखि बन्द रहेको तस्करीको कार्य जिल्लाको घुमुवाहरूले मोटो रकमको नजराना बुझे पश्चात् पुन: तस्करीको कार्य सुचारू भएको बताए ।
रौतहटको बन्कुल नाका हुँदै म्याजिक कार, ट्रेक्टर, पैदलको समेत माध्यमले तस्करी हुने गरेको स्थानियले बताउछन । माथिल्लो निकायको सेटिङ्ग भए पश्चात् बन्कुल नाकाबाट तस्करहरू प्रती दिन करोडौको मालसमान आयात निर्यात गर्ने गरेको स्थानियको दाबी रहेको छ । जिल्लाबाट इशारा पाउन साथ प्रहरी चौकी बन्कुल र बोर्डर आउट पोस्ट सहरमुजुवाको सहयोगमा रातभरी गाडी तथा पैदलको माध्यमले तस्करी हुने गरेको स्थानिय बताउछन ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी प्रधुमन कार्की र सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका प्रमुख डिआइजी राजु अर्यालले सीमा नाकामा कडाइ गर्न निर्देशन दिएपनी जिल्लाको घुमुवाको माध्यमले तस्करीको लाइन सुचारू हुनु बिडम्बनाको बिषय बनेको छ ।

Comments (0)
Add Comment