मोर्चा द्वारा वीरगन्जमा प्रचण्डको पुत्ला दहन, भोलि ११ गते मधेश बन्द

 वीरगन्ज, फागुन १०: सरकारले स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि मधेसी मोर्चामा आबद्ध दलहरुले आज देखि आन्दोलन शुरु गरेका छन् । सदभावना पार्टीले वीरगन्जमा मंगलबार बिहान प्रधामन्त्री पुष्पकमल दाहालको पुत्ला  दहन गर्दै आन्दोलन थालेको हो ।

मोर्चाका कार्यकर्ताहरुले घण्टाघर चोकमा प्रधानमन्त्री दाहालको पुत्ला दहन गरेका हुन् । पुत्ला दहन पछि आयोजित कोणसभालाइ सम्बोधन गर्दै सदभावना पार्टीका उपाध्यक्ष इश्वर यादवले मधेसी मोर्चाकै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले अहिले मोर्चाको सहमति बेगर जबरजस्ति चुनावको मिति घोषणा गरेर धोका दिएको बताउनु भयो ।

उहाले संविधान संशोधन नगरि हुने चुनावको कुनै अर्थ नभएको बताउनु भयो । उहाले सरकारले घोषणा गरे पनि मधेसमा मधेसी दलहरुले चुनाव हुन नदिने चेतावनी पनि दिनु भयो । हिजो साँझ सरकारले आगामी बैशाख ३१ गते स्थानीय तह निर्वाचन गर्ने घोषणा गरे लगत्तै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । मोर्चाले संविधान संशोधन बिना गरिने निर्वाचन स्वीकार्य नहुने बताउँदै आज साँझ देशभर मसाल जुलुस प्रदर्शन गर्ने जनाएको छ ।

मोर्चाले भोलि ११ गते मधेस बन्द गर्ने घोषणा पनि गरेको छ ।

Comments (0)
Add Comment