Ultimate magazine theme for WordPress.

१५ वटा उपमहानगरपालिकामा ‘फोर जी’ सेवा विस्तारका लागि टेन्डर गरिँदै

88

काठमाडौं, फागुन ४ : डेढ महिनाअघि काठमाडौं र पोखराबाट एकसाथ फोर जी (चौथो पुस्ता प्रविधि) सेवा सुरु गरेको नेपाल टेलिकमले निकट भविष्यमै १५ वटा उपमहानगर पालिकामा पनि यो सुविधा उपलब्ध गराउने भएको छ। टेलिकमले सुनसरीको इटहरी र धरान, धनुषाको जनकपुर, मकवानपुरको हेटौंडा, चितवनको भरतपुर, रुपन्देहीको बुटवल, बाँकेको नेपालगन्ज ललितपुरलगायत १५ उपमहानगरपालिकामा छिट्टै फोर जी सेवा विस्तार गरिने बताएको छ।

दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले पहिलो चरणमा देशभर भएका उपमहानगर पालिकामा फोर जी सेवा विस्तार गर्ने बताए। ‘सुरुमा काठमाडौं र पोखराबाट फोर जी सेवा विस्तार गर्यौ,’ उनले नेपालखबरसँग भने, ‘दोस्रो चरणमा १५ वटा उपमहानगर पालिकामा यो सेवा विस्तार गर्ने योजना छ। सोही अनुरुप काम भइरहेको छ।’  उनका अनुसार कम्पनीले फोर जी विस्तार गर्न टेन्डर आह्रवान गर्ने तयारी गरेको छ। ‘टेन्डरको प्रक्रियामा जाने तयारीमा छौं,’ उनले भने, ‘केही हप्तामै टेन्डर प्रक्रियामा जान्छौं।’

पोखरा र काठमाडौंमा फोर जी सेवा सुरु भए पछि अन्य जिल्लाबाट धेरै माग आएको र त्यसलाई सम्बोधन गर्न दोस्रो चरणमा उपमहानगर पालिका रोजेको अधिकारीले जानकारी दिए। ‘१५ वटै उपमहानगर पालिकामा यति नै समयभित्र यो सेवा ल्याउँछौं भन्ने निश्चित भएको छैन्,’ उनले भने, ‘तर, त्यसका लागि कम्पनीले काम सुरु गरेको छ।’ ग्राहकको लामो प्रतीक्षापछि गत पुसमा टेलिकमले पहिलोपटक फोर–जी सेवा सुरु गरेको थियो। फोर–जी भनेको थ्री–जीको विकसित रुप हो, जुन द्रुत गतिको हुन्छ।

टेलिकमले काठमाडौं उपत्यका र पोखराका प्रयोगकर्ताका लागि मात्र फोर–जी सेवा उपलब्ध गराएको छ। अब छिट्टै उपमहानगर पालिकाका ग्राहकले पनि यो सुविधा उपयोग गर्न पाउने अधिकारीले बताए।

उनका अनुसार नेपाल टेलिकमले १५ वटा उपमहानगर पालिकामा फोर जी सेवा विस्तार गर्न टेन्डर निकाल्ने तयारी गरेको छ। ‘टेन्डर निकाल्न अन्तिम गृहकार्य भइरहेको छ,’ उनले भने, ‘केही दिनमा टेन्डरको सूचना निस्किन्छ।’ अहिले काठमाडौं उपत्यकाको रिङ रोडभित्र, इन्द्रायणी, गोदावरी, गोकर्ण रिसोर्ट क्षेत्र, भक्तपुर र पोखरामा मात्र उपभोग गर्न पाएका छन्। काठमाडौं उपत्यकाका ३०८ बिटिएस टावर र पोखराका २५ बिटिएस टावर क्षेत्रभित्र पर्ने ३ लाख ५० हजार ग्राहकले सेवा उपभोग गर्न पाउने छन्। छिट्टै थप ५९ वटा बिटिएस टावरमा यो सेवा सञ्चालन हुने प्रविधि जडान गर्ने टेलिकमको योजना छ।

टेलिकमले १८ सय मेगाहर्ज ब्यान्ड प्रयोग गरी १५ मेगाहर्ज ब्यान्डविथलाई रि–फ्रेमिङ गरी १० मेगाहर्जमा जिएसएम र ५ मेगाहर्जमा फोर–जी (एलटिई) सेवा सुरु गरेको अधिकारीले बताए। ५ मेगाहर्ज ब्यान्डविथ प्रयोग गरी फोर–जी सञ्चालन गर्न ३२.४ एमबिपिएससम्म सपभोग गर्न सकिन्छ। सोभन्दा बढी सेवा पु¥याउन थप ५ मेगाहर्ज चाहिन्छ।

फोर–जी सेवा सञ्चालन गर्न ५ मेगाहर्जले हुँदैन। यसमा फोर–जीको प्रकृति अनुसारको स्पिडमा चल्दैन। टेलिकमले नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग थप ५ मेगाहर्ज मागेको छ। प्राधिकरणले ७०० र २६०० ब्यान्डमा बढाबढ गर्दैछ।
दक्षिण एसियाली सहयोग संगठन (सार्क) मै पहिलोपटक थ्री–जी सेवा सुरु गरे पनि फोर–जी ल्याउन भने सात वर्ष लागेको हो। विश्वमा फोर–जी सेवा सञ्चालन भएको सात वर्षपछि नेपालमा सुरु भएको हो। विश्वमा सन् २०१० मा स्विडेनबाट फोर–जी सेवा सुरु भएको थियो। हाल विश्वका १ सय ६० दूरसञ्चार कम्पनीहरूले यो सेवा सञ्चालन गरिरहेका छन्। हुवावे टेक्नोलोजीले टेलिकमको फोर–जी सेवा विस्तार गरिरहेको छ।

उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजीका उपभोक्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल र च्याट गर्न सक्छन्। फोरजीमा इन्टरनेटमा आधारित टेलिफोनमा पाइने सेवाहरू पाइनेछ। उच्च गुणस्तरीय भिडियोसहितको मोबाइल टेलिभिजनसमेत हेर्न मिल्छ। यसबाट भिडियो कन्फेरेन्स गर्न सजिलो हुन्छ। फोरजी प्रविधिले मोबाइलमै थ्रीडी भिडियोसमेत हेर्ने सुविधा दिन्छ।

Leave A Reply

Your email address will not be published.