संशोधन पास नभए पनि चुनाव हुन्छः पूर्वगृहमन्त्री बस्नेत

जुम्ला, माघ ७  : नेकपा (माओवादी केन्द्र) ६ नम्बर प्रदेशका इन्चार्ज तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान संशोधन नभए पनि चुनाव हुने बताएका छन्। नेकपा (माओवादी केन्द्र) जुम्लाद्वारा आयोजित राजनीतिक वैचारिक प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले चुनाव घोषणाको समय नजिकिँदै गएकाले जिल्लास्थित नेता कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिए।

मुलुकमा व्यवस्था बदलिए पनि मानवीय सोच र अवस्था सोचेअनुरुप नबदलिएको भन्दै उनले माओवादी पार्टी युगको प्रमुख प्रतिनिधि बन्ने प्रयासका साथ अघि बढिरहेको दावी गरे।

कार्यक्रममा ६ नम्बर प्रदेश कर्णालीका संयोजक मायाप्रसाद शर्माले मुलुकमा भौतिक विकासका साथै चेतनाको विकास अपरिहार्य रहेको औँल्याए। हरेक हार आफैंबाट जन्मने भन्दै जित पनि आफैंबाट सुनिश्चित हुनुपर्ने उनको भनाइ थियो।

माओवादी केन्द्रका केन्द्रीय सदस्य नवराज न्यौपानेले जित सुनिश्चितताका लागि पार्टीको आन्तरिक सङ्गठन सुदृढ हुन अपरिहार्य रहेको बताए। रासस

Comments (0)
Add Comment