अंगीकृत नागरिकता लिनेको संख्या बढ्दो

काठमाण्डौ, पुस २५  : नेपालमा अंगीकृत नागरिकता प्रमाणपत्र लिनेको संख्या बढ्दै गएको छ। अंगीकृत नागरिकता विषयमा संसद र नागरिक तहमा व्यापक बहस भइरहेको बेला अंगीकृत लिनेहरुको संख्या भने निकै बढेको गृह मन्त्रालयको तथ्यांकमा देखिएको छ।

गृह मन्त्रालयका अनुसार नयाँ संविधान जारी भएयता करिब साढे ४ हजार ३३८ जनाले अंगीकृत नागरिकता लिएका छन्। गणतान्त्रिक संविधान जारी भएको करिब १४ महिनायताको विवरणमा यस्ता नागरिकता वैवाहिक अंगीकृत रहेको देखिएको छ। वैवाहिक अंगीकृत नागरिकता लिनेमा भारतीय जन्मभूमि भएका महिला अधिक छन्। नेपालीसँग विवाह गरेका भारतीय महिलाहरुले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्।

मन्त्रालयका अनुसार, वैवाहिक अंगीकृत नागरिकता वितरणमा रुपन्देही जिल्ला प्रशासन कार्यालय अगाडि देखिएको छ। संविधान जारी भएदेखि पुस दोस्रो सातासम्म १६ सय जनाले अंगीकृत नागरिता लिएको रुपन्देही जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ‘पहिले बच्चा जन्मिसकेपछि नागरिकता लिने बढी आउँथे, अहिले विवाह गर्नेबित्तिकै आउँछन्,’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी प्रकाश सिंहले भने।

यसरी नागरिकता लिनेहरुमा नवलपरासी, कपिलवस्तु, पर्सा, बारा, रौतहट, सुनसरी, मोरङ, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरीलगायत तराइका जिल्ला बढी छन्। नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने प्रावधान छ।

Comments (0)
Add Comment