बैतडीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

बैतडी, पुस २५  : बैतडी जिल्लामा पनि प्रधानमन्त्री कृषि आधुिनकीकरण परियोजना सुरु भएको छ। जिल्ला कृषि विकास कार्यालयले चालु आवमा जिल्लामा ब्लक र पकेटको अवधारणाअनुसार परियोजना सुरु गरेको जिल्ला कृषि विकास कार्यालय प्रमुख दिव्यदेव भट्टले जानकारी दिए।

परियोजनाअन्तर्गत १०० हेक्टरको एक ब्लकका आधारमा मकै र मकैको बीउ उत्पादन तथा तरकारी उत्पादनका लागि कार्यक्रम गरिएका छन्। मकै र मकैको बीउ उत्पादनका लागि गाँजरी, सिगास, शिवलिङ्ग, थालाकाँडा, ढुङ्गाड, भटना, हाट, न्वादेउ, महादेवस्थान, मल्लादेही, मेलौली, सलेना, महारुद्र, विशालपुर र शिवनाथ गाविस छनोट गरिएका छन्।

यस्तै, तरकारी उत्पादनका लागि देहीमाडौँ, सलेना, सिद्धपुर, गोकुलेश्वर, दशरथचन्द नगरपालिका, गुरुखोला, सिद्धेश्वर, महारुद्र, चौखाम, भूमराज र न्वाली छनोट गरिएका छन्।

परियोजनाअन्तर्गत बीउबीजन, कृषि यान्त्रीकरण ५० प्रतिशत अनुदान दिइनेछ भने सिँचाइमा ८५ प्रतिशत अनुदान दिइने जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत कर्णबहादुर चन्दले बताए। रासस

Comments (0)
Add Comment