तरकारी बजार टुट्यो, कपडा बजार तीन–चार दिनमैं बल प्रयोग गरी खाली गराउने

विरगंज, फागुन १६ : केही दिन अघि वीरगंज उपमहानगरपालिकाले एकाबिहानै डोजर चलाएर विपी उद्यानमा लाग्ने गरेको तरकारी बजार खाली गराएपछि अहिले सर्वसाधारणले हड्ढङ कपडा बजार कहिले हट्छ भन्ने प्रश्न गर्न थालेका छन् ।

वीरगंजकै केही व्यापारीले तरकारी पसलेमाथि अन्याय गरिने र कपडा पसलेहरूलाई बिनाकारबाई व्यापार पसल सञ्चालन गर्न दिने नगरपालिकाको द्वैध चरित्रप्रति टीकाटिप्पणी गर्न थालेका छन् ।

यस विषयमा वीउमनपाका प्रमुख कार्यकारी अधिकृत पीताम्बर अधिकारीले तीन–चार दिनमैं पसलेहरूले पसल खाली नगरे बल प्रयोग गरी सो स्थान पनि खाली गराउने बताए । गत फागुन १२ गते सोमवारका दिन हड्ढङ बजार खाली गराउने विषयमा सूचना पनि जारी गरिसकेको हुनाले यदि पसलेहरूले बजार खाली नगरे नपाले खाली गराउँदा लाग्ने शुल्क पनि सम्बन्धित पसलेहरूबाट असुल्ने नपाले जनाएको छ ।

साथै उनीहरूलाई वीरगंजकै कुनै वैकल्पिक ठाउँ खोजी स्थानान्तरण गर्ने गृहकार्य भइरहेको जानकारी गराएका छन् । हड्ढङ बजारमा हाल सयजना पसले नपालाई शुल्क नै नतिरी व्यवसाय गर्दै आएका छन् ।

Comments (0)
Add Comment