Ultimate magazine theme for WordPress.

सिरियाका विद्रोहीले शान्तिवार्ता त्याग्ने

79

सिरिया, पुष १९ – सिरियाली विद्रोही समूहले यसै महिनाको अन्त्यमा रुस र टर्कीले आयोजना गर्ने शान्तिवार्तामा भाग नलिने बताएका छन् ।

विभिन्न समूहले हस्ताक्षर गरेको एक संयुक्त वक्तव्यमा सिरियाली सरकारले युद्धविरामको उल्लंघन गरेकोले शान्तिवार्ता बहिष्कार गर्ने बताएको हो ।

टर्की र रुसले अघिल्लो बिहीवार युद्धविराम गराएका थिए र यो अहिलेसम्म कायम छ ।

शान्तिवार्ता कजाकास्तानको अस्तानामा हुने कुरा छ ।

सिरियाको राजधानी दमास्कसभन्दा उत्तर पश्चिमतर्फ रहेको वादी बरादा क्षेत्र विद्रोहीको कब्जामा छ । यहाँ सिरियाली सुरक्षाफौज र तिनका हेजबोल्लाह सहयोगीहरूले दिनदिनै बमवारी गरिरहेको उनीहरूले बताए ।

वादी बरादामा एउटा ठूलो झरना रहेको छ जसबाट दमास्कसका लाखौं निवासीले पानी पाउँछन् । सरकारले विद्रोहीहरूमाथि झरनामा डिजेल मिसाएको आरोप लगाएको छ । उनीहरूले आरोप अस्वीकार गरेका छन् ।

आफूहरूले युद्धविरामको सम्मान गरेको भएपनि सिरियाली सरकार र यसका सहयोगीहरूले लगातार गोली बर्साइरहेको उनीहरू बताउँछन् ।

सिरियाली सुरक्षाकर्मीहरूले यो आरोपलाई खारेज गरेका छन् ।

यसबीच संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले रुस र टर्कीको मध्यस्थतामा हुने शान्तिवार्तालाई समर्थन गरेको छ ।

बीबीसी

Leave A Reply

Your email address will not be published.