Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीले गरे पत्रकार सम्मेलन

125

काठमाडौं /
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सशस्त्र प्रहरी बललाई प्राप्त कार्यादेश अनुरुप संगठनबाट हालका दिनहरुमा भएगरेका कामकारवाही सम्बन्धमा जानकारी गराउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले विभिन्न प्रकृतिका सुरक्षा चुनौतीलाई सामना गर्न तथा प्रभावकारी सुरक्षा व्यवस्थाका लागि देशको सबै स्थानमा संगठनको उपस्थितिको आवश्यकता महसुस गरी संगठनको पुनर्संरचना गरिएको बताउनुभयो । उहाँले संगठनको पुनर्संरचना गरी विगतमा ५८ जिल्लामा उपस्थिति रहेको सशस्त्र प्रहरी बललाई देशका सबै जिल्लाहरुमा तैनाथ गरिएको स्मरण गराउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले भर्ना छनौट कार्यलाई सहज, सरल र पारदर्शी बनाईएको उल्लेखि गर्नुहुँदै २०७५ साल भरिमा कूल ३ हजार ५ सय ६४ जना विभिन्न दर्जामा भर्ना लिईएको तथा हाल ३ हजार ४ सय १ जना भर्ना छनौट प्रकृयामा रहेको बताउनुभयो । विगतमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय तथा मुख्यालयहरुबाट मात्रै दरखास्त आव्हान गरिँदै आएकोमा भर्नामा सवैको पहुँचलाई सुनिश्चित गर्न ७ वटा हिमाली जिल्ला, ३० वटा पहाडी जिल्ला र तराईका २१ जिल्ला गरी ५८ जिल्लाबाट आवेदन माग गर्नुका साथै स्थानीय भाषामा प्रचार प्रसार समेत गरिएको कुरा पत्रकार सम्मेलनमा उहाँले उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले दण्ड र पुरस्कारको नीति अवलम्बन गर्नुका साथै विपद् जोखिम न्यूनिकरणका क्षेत्रमा, सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने महानुभावहरुलाई संगठनको तर्फबाट सम्मान गर्ने कार्यको थालनी गरिएको, सशस्त्र प्रहरी बल नेपालले परिचालनका क्षेत्रहरुमा अपेक्षाकृत उपलब्धी हासिल गरेको, संगठनको कल्याणकारी कार्यलाई अझै प्रभावकारी तथा पारदर्शी तुल्याईएको, दुर्गम स्थानका नागरिकका दुई जना सन्ततीलाई नेपाल एपीएफ स्कुलमा निःशुल्क अध्ययनको व्यवस्था मिलाईएको, चोरीपैठारी निकासी नियन्त्रण कार्यलाई प्रभावकारी बनाईएको, नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपतविपद्मा उद्धार कार्यमा शिघ्र परिचालन हुने संयन्त्रको विकास गरिएको लगायतका विविध कामकारवाहीमा भएका उपलब्धीबारे चर्चा गर्नुभयो ।
आर्थिक पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरी कडाईका साथ पालना गराईएको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले गत वर्ष २.९९ प्रतिशत बेरुजु फछ्र्यौट भएकोमा अहिले दोस्रो चौमासिकसम्म आईपुग्दा ४३.७७ प्रतिशत बेरुजु फछ्ुर्यौट गरिएको बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले शान्ति, सुरक्षा तथा अमनचयन कायम राखी सुशासन बनाई राख्न देशभर रहेका एपीएफ ईकाईमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरु अहोरात्र खटिईरहेको चर्चा गर्नुहँदै ईमिडियट रेस्पोन्स टीम, चेकप्वाईन्ट, पिकेट तथा गस्ती गरी दैनिक रुपमा कूल १ हजार ८ सय ३४ टोली परिचालित रहेको, दैनिक रुपमा करीब १४ हजारको संख्यामा सशस्त्र प्रहरी कर्मचारी नियमित ड्युटीमा खटिएको, लङ्ग रेञ्ज पट्रोल तथा फोर्स मार्चमा ६ सय ४६ टोली परिचालन गरिएको तथा यसबाट ‘र्हाइवे’ मा हुन सक्ने लुटपाट, चोरी, डकैतीको कुनै पनि घटना नभएको उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी बल नेपालले एक वर्षको अवधिमा विभिन्न खालका २८ वटा अवैध हतियार बरामद गर्नुका साथै गोली २ सय ९५ राउण्ड, म्यागजिन १३ वटा, बारुद एक सय ग्राम, डेटोनेटर ३३ वटा, ग्रिनेट ६० वटा, जिलेटिन २६ वटा तथा पाँच कार्टुन जिलेटिन लोला बरामद गरिएको तथा विभिन्न अपराधमा संलग्न ६ सय ८६ जनालाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाईएको कुरा समेत सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले जानकारी गराउनुभयो । उहाँले विभिन्न वन्यजन्तुको उद्धार गरिएको तथा देशका विभिन्न एक सय स्थानमा ईमिडियट रेस्पोन्स टीम तैनाथ गरिएको कुरा समेत उल्लेख गर्दैै सो टीममा उपलब्ध भएसम्म सशस्त्र प्रहरी बलको स्वास्थ्यकर्मी तथा एम्बुलेन्स समेत राखिएको बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले एक वर्षको अवधिमा सीमा अपराध नियन्त्रणमा गरिएका प्रयासबारे उल्लेख गर्नुहुँदै विभिन्न तहमा समकक्षीवीच भएको बैठकको संख्याबारेमा समेत जानकारी गराउनुभयो । उहाँले छिमेकी मुलुकका सुरक्षाकर्मीसँग समानान्तर एवं संयुक्त गस्ती गर्ने गरिएको तथा विभिन्न चाडपर्वमा सीमा नाकाहरुमा १ सय ६९ स्थानमा सहायता कक्ष स्थापना गरी १० हजार ५ सय ७५ जना यात्रुहरुलाई सहयोग पु¥याइएको बताउनुभयो ।
विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरणतर्फ सशस्त्र प्रहरी बलले विभिन्न प्रयासहरु गरिरहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले एक वर्षको अवधिमा ६ हजार ५७ जनालाई जीवितै उद्धार गर्नुका साथै मृत्यु भएका १ हजार ४ जनाको शब निकालिएको तथा उद्धार कार्यमा करीब २१ हजार सशस्त्र प्रहरी कर्मचारी परिचालित भएको बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरी बलको सूचना प्रविधितर्फ प्रसस्त सुधार गरिएको बताउनुहुँदै विभिन्न एपीएफ ईकाईसँग आन्तरिक नेटवर्क जडान गरिएको, सर्विलेन्स सिस्टममा सुधार गरिएको, भिडियो कन्फरेन्सको क्षमता विकास गरिएको, सशस्त्र प्रहरी बलको तालिम पाठ्यक्रममा सुधार गरिएको, लगाएतका विविध कामकारवाहीहरुमा समयानुकुल सुधार गरिएको कुरा समेत उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनको आगामी योजना सम्बन्धमा चर्चा गर्नुहँुदै बोर्डर आउट पोष्टको संख्या अझै बृद्धि गर्ने पहल गर्ने लगायत थप गुल्म स्थापना गर्न पहल गर्ने, विपद् दुर्घटना तथा प्रकोपको अवस्थामा खोज तथा उद्धार क्षमतामा बृद्धि गर्नुका साथै उद्धार कार्यलाई आधुनिक तथा प्रविधि मैत्री बनाउन पहल गर्ने लगायतका विविध प्रकृतिका आगामी योजनाहरुबारे समेत उल्लेख गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.