Ultimate magazine theme for WordPress.

मार्शल लगाएर संसद सूचारु गर्ने तयारी

38

काठमाडौं, पुस १८: एक महिनाभन्दा बढी समयदेखि अवरुद्ध हुँदै आएको ब्यवस्थापिका संसदको बैठक मार्शल लगाएर सूचारु गर्ने तयारी गरिएको छ । ब्यवस्थापिका संसदको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सरकारले गत मंसिर १४ गते संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएपछि विधेयक संसदमा टेबुल हुन नदिएर नेकपा एमाले सहितका विपक्षी दलहरुले अवरुद्ध गर्दै आएका छन् ।

दलहरुबीच सहमति भएर मात्रै संशोधन विधेयक कार्यसूचिमा राख्ने भने पनि सहमति नजुटेपछि मार्शल लगाएर भए पनि संसद बैठक सूचारु गर्ने तयारी संसदले गरेको स्रोतले बताएको छ । विपक्षीले अवरोध गरेमा केही समयका लागि स्थगित गरी दलहरुहरुसँग छलफल गर्ने फेरि बैठक सञ्चालन गर्ने योजना सभामुखको छ ।

सभामुख ओनसरी घर्तीले संसदको गतिरोध हटाउन गरेका पटक पटकको पहल सफल नभएपछि पछिल्लो पटक विहीबार दलहरुलाई सहमतिका लागि तीन दिनको अल्टिमेटम दिएकी थिइन् । सभामुख घर्तीले दिएको तीन दिनको अल्टिमेटम आइतबार नै सकिए पनि दलहरुबीच सहमति नजुटेपछि प्रक्रिया अघि बढाउने तयारीमा रहेको बताइएको छ ।

संसदको गतिरोध कायमै रहँदा निर्वाचन पनि हुन नसक्ने तथा संसदको अन्य महत्वपूर्ण एजेण्डा समेत ओझेलमा परेको भन्दै संसद सूचारु गर्न सरकारले सभामुखलाई दबाब दिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संसदको गतिरोध हटाउनेबारेमा छलफल गरेका थिए । ओलीले आइतबार पनि संशोधन फिर्ता नभएसम्म संसद चल्न नदिने अडान राखेका थिए ।

संशोधन विधेयक फिर्ता लिएमा मधेसवादी दल झनै रुष्ट हुने र मधेसमा निर्वाचन गर्न नसकिने भएकाले सरकारले संशोधन संसदमा टेबुल गरेर निर्वाचनको मिति घोषणा गर्ने निश्कर्षमा पुगेको छ ।

 

Leave A Reply

Your email address will not be published.