Ultimate magazine theme for WordPress.

माओवादी पार्टी मात्रै होइन युगान्तकारी आन्दोलन हो –प्रचण्ड

145

धनगढी, ६ पुस । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले माओवादी पार्टी मात्र नभएर एक युगान्तकारी आन्दोलन भएको बताएका छन् ।

माओवादी केन्द्रले आयोजना गरेको सात नम्वर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन ।
सात नम्वर प्रदेशका नेता, कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले भने, ‘माओवादी कुनै पार्टी मात्र होइन, यो एउटा युगान्तकारी आन्दोलन हो ।

कसैले चाहेर पार्टी त सानो ठूलो हुन सक्ला । तर, युगान्तकारी परिवर्तनका मुद्धा कायम रहेसम्म माओवादी आन्दोलन कायमै रहन्छ । हामी नरहुँला । तर, माओवादी अझै शक्तिशाली भएर रहन्छ । यो कुनै पार्टी मात्रै होइन, नेपालमा उथलपुथलकारी परिवर्तन ल्याउने आन्दोलन पनि हो ।’

माओवादी एकतामा जोड दिँदै प्रचण्डले थपे, ‘माओवादी एकता आजको आवश्यकता हो । आजको आवश्यकता माओवादी धाराको एकता नै हो । क्रान्ति र देशको हितका लागि माओवादी एक हुनुपर्छ । मैले सबै माओवादी धाराका नेताहरुसँग कुरा गरिरहेको छु । माओवादीलाई केन्द्रित गर्ने अभियानमा म लागेको छु । माओवादीको एकताबिना राष्ट्रिय एकता र परिवर्तनका एजेण्डा संस्थागत गर्न सकिँँदैन । परिवर्तनका एजेण्डा कमजोर भए स्वाधिनता खतरामा पर्ने र आन्तरिक एकतामाथि नै चुनौति आउन सक्छ ।’

राष्ट्रिय राजनीतिबारे चर्चा गर्दै प्रचण्डले भने, ‘सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध छ । हिमाल, पहाड र तराईलाई एकअर्कामा लडाएर होइन, एकतावद्ध गरेर मात्र राष्ट्रिय एकता हासिल गर्न सकिन्छ । सरकार राष्ट्रिय एकता हासिल गरेर निर्वाचनमा जाने तयारीमा छ । संविधान संशोधन प्रस्ताव संविधान कार्यान्वयनका लागि जरुरी थियो । निर्वाचनको वातावरण नबनाई संविधानको कुरा गर्नु आदर्श त हुन सक्ला । तर, वास्तविक समाधान हुन सक्दैन ।’

प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका बरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा ‘बादल’ले संगठनलाई व्यवस्थित बनाएर स्थानीय निर्वाचनको तयारी गर्न कार्यकर्तालाई आग्रह गरे । प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका नेता लेखराज भट्ट, कृषिमन्त्री गौरीशंकर चौधरी, नेताहरु खगराज भट्ट, जोखबहादुर महरा, लक्ष्मणदत्त जोशी लगायतको उपस्थिति थियो ।

प्रशिक्षणमा सात नम्वर प्रदेश अन्तर्गतका सबै जिल्लाका संयोजकहरुले जिल्लाको राजनीतिक र संगठनात्मक अवस्थाका बारेमा रिपोर्टिङ् गरेका थिए ।

Leave A Reply

Your email address will not be published.