Ultimate magazine theme for WordPress.

भियतनाममा १ करोड २० लाख सिम कार्ड निष्क्रिय पारिने

68

दर्ता नभएका वा मोबाइल फोनमा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका १ करोड २० लाख सिम कार्डहरु सरकारले निष्क्रिय पार्ने योजना बनाएको भियतनामको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ। भियतनामको सूचना तथा सञ्चार ऐनले व्यवस्था गरेअनुसार मोबाइलमा कुनै पनि सिमकार्ड प्रयोग गर्नुअघि सही नाम, ठेगाना, जन्म मिति इत्यादि उल्लेख गर्नुपर्ने प्रावधान छ। तर धेरैजसो प्रयोगकर्ताले आफ्ना असली परिचय खुल्ने कागजपत्र वा नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित सरकारी कार्यालय बिधिवत दर्ता नगरी सिम प्रयोग गरिरहेकोले यस्तो कडाइ गर्न लागिएको जनाइएको छ।

केही व्यवसायीले यस्तो नियमलाई वास्ता नगरेर जसलाई पायो उसलाई, नक्कली नाम, ठेगाना र अन्य गलत सूचना भरेर जथाभावी सिमकार्ड बिक्री वितरण गरिरहेको बताइएको छ। यसले समाजमा विकृति र अपराधकर्म निम्त्याउन सक्ने गुनासो आएकाले यस्तो क्रियाकलापलाई निरुत्साहित पार्न र दर्ता रेकर्डलाई कानूनको दायरामा ल्याउन सूचना तथा सञ्चार मन्त्रालयले कडाई गर्न लागेको हो।
सिमकार्ड व्यवसायीहरुले बिशेषगरी विदेशी पर्यटक तथा जो कोहीलाई पनि सस्तो मूल्यमा ठूलो परिमाणमा बजारमा छ्याप्छ्याप्ति सिमकार्ड बेचेकाले रेकर्ड राख्न प्राय असम्भव भएको छ। यसै कारण, दर्ता नभएका वा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका करोडौं सिम कार्डहरु निष्क्रिय पार्नका लागि सरकारले अभियान नै चलाउने भएको हो।
सही सूचना उपलब्ध गराई सिमकार्ड दर्ता गर्नका लागि १५ दिनको म्याद दिई सूचना निकालिएको र तोकिएको अवधिभित्र दर्ता गर्न अटेरी गर्ने सिमकार्डवाला फोन नम्बरहरु निष्क्रिय पारी कानूनी कारवाही गरिने समेत स्थानीय तुओइत्रे अनलाइन समाचारपत्रले बिहीबारको प्रकाशनमा उल्लेख गरेको छ । रासस/सिन्ह्वा

Leave A Reply

Your email address will not be published.