Ultimate magazine theme for WordPress.

फागुन ६ गतेदेखि अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण मेला

54

काठमाडौं, फागुन ४ : कृषि क्षेत्रको व्यवसायिक बिकास गर्ने उद्देश्यले नेपालमै पहिलो पटक बृहत अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण महोत्सव हुने भएको छ। महोत्सव आगामी फागुन ६ गतेदेखि तीन दिनसम्म काठमाण्डौंको भृकुटी मण्डपमा आयोजना हुनेछ।

महोत्सवमा नेपाल, भारत, मलेसिया, चीन, ताइवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेल्जियम, नेदरल्याण्डससहित १६ देशका दुई सयभन्दा बढी कृषियन्त्र प्रदर्शनीमा राखिनेछ। मिडिया स्पेस सोलुसन्सका प्रवन्ध निर्देशक सर्जल भट्टराईका अनुसार प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरणहरु, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन उद्योग, पोल्ट्री उद्योग एवं पशुपालन उद्योग सम्बन्धी सानादेखि ठूलो क्षमताको उपकरणको प्रदर्शनी गरिनेछ। साथै, कृषि, पशुपालन तथा डेरीसम्बन्धि प्राविधिक गोष्ठीहरु पनि संचालन गरिने उनले बताए।

फ्युचरेक्स इण्डिया, कृषि मेसिनरी व्यवसायी संघ, कृषि इन्जिनीयरिङ्ग निर्देशनालय, पशुपंक्षी विकास मन्त्रालय, कृषि उद्यम केन्द्र, व्यवसायिक कृषि तथा व्यापार आयोजना, नेपाल कृषि सहकारी केन्द्रीय संघको सहकार्यमा मिडिया स्पेस सोलुसन प्रालिले यो मेलाको आयोजना गरेको हो। महोत्सवमा खनजोतबिना नै खेतमा खाद्यान्न बालीको बिऊ छर्ने मेसिन पनि राखिनेछ। महोत्सवमा अवलोकनकर्ताको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

कृषि मन्त्रालयअन्तर्गतको कृषि ईन्जिनीयरिङ्ग निर्देशनालयका निर्देशक मधुसुधन बस्नेतले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन एक मात्र विकल्प यान्त्रीकरण भएको सुझाव दिए। कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष उमेश मानन्धरका अनुसार नेपालमा बार्षिक एक अर्ब मूल्यबराबरको कृषि उपकरण आयात हुने गर्छ। मुख्यगरी धान, गहुँ, मकै, कोदो खेतीमा प्रयोग हुने उपकरणसहित डेरी, मत्स्य पालन र कुखुरा पालनमा उपकरणको प्रयोग हुने गरेको उनले बताए। ‘पछिल्लो बर्षमा कृषि यन्त्रप्रति किसानको आकर्षण बढ्दै गएको छ’, अध्यक्ष मानन्धरले भने। यसको मिडिया संयोजन नेपाल कृषि पत्रकार प्रतिष्ठानले गर्ने भएको छ।

Leave A Reply

Your email address will not be published.