Ultimate magazine theme for WordPress.

पूर्वाञ्चल खेलकुदमय

55

बिराटनगर, पुष ८ /आजदेखि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा औपचारिक रूपमा सुरु भएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरको सहिद रंगशालामा प्रतियोगिताको उद्घाटन गरेकी हुन्। पूर्वका विभिन्न जिल्लामा आयोजना हुने सातौं खेलकुदका लागि खेलाडी, प्रशिक्षक तथा अन्य आगन्तुक देशैभरिबाट प्रतियोगितास्थल आइपुगिसकेका छन्। खेलतालिका पछाडि रहेका टाढाका खेलाडी तथा प्रशिक्षक आउनेक्रम जारी रहेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

सातौं खेलकुदमा विभिन्न ३५ खेल समावेश गरिएको छ। जसमध्ये प्रतियोगिताका २७ खेल पूर्वाञ्चलमा हुनेछन्। राखेपले दिएको जानकारीअनुसार सुनसरीमा १५, मोरङमा १३, झापामा पाँच, सिरहा–इलाम–सप्तरी र धनकुटामा एक÷एकवटा खेल हुनेछन्। त्यसैगरी, ललितपुर, काठमाडौं र कास्कीमा समेत एक-एकवटा खेल हुने परिषद्ले जनाएको छ।

सातौं खेलकुद मूल आयोजक समितिअन्तर्गत प्रचारप्रसार उपसमिति संयोजक लोकेन्द्र बस्नेतले दिएको जानकरीअनुसार यसपटक प्रतियोगितामा २ हजार ३ सय ३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। सबै खेलाडी क्षेत्रीय छनौट चरण गरेर आएका हुन्। प्रतियोगितामा भाग लिने जम्मा खेलाडीमध्ये १ हजार ६ सय ६९ जना महिला खेलाडी रहेको परिषद्ले जनाएको छ। प्रतियोगितामा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत तथा ४ सय ४७ कास्य गरी जम्मा १ हजार ३५ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ।

खेलाडी–प्रशिक्षकका लागि डेढ सय होटल

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत खेलाडी–प्रशिक्षक तथा आगन्तुकका लागि विभिन्न स्थानमा करिब डेढ सय होटल बुक गरिएको छ। प्रतियोगिताअन्तर्गत पूर्वका विराटनगर, इटहरी, धरान, दमक, झापा, काँकडभिट्टा, इनरुवा, चन्द्रगढीलगायत विभिन्न सहरमा खेलाडी तथा प्रशिक्षकलाई राख्न १ सय ४० वटा होटल बुक गरिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आवास उपसमितिले जानकारी दिएको छ।

पूर्वका विभिन्न सहरमा आयोजना हुने ३७ विधाका प्रतियोगितामा भाग लिने खेलाडी र प्रशिक्षक गरी करिब ५ हजारका लागि ती होटल बुक गरिएको हो। प्रतियोगिताका लागि आउने सबै खेलाडी–प्रशिक्षक तथा अन्य आगन्तुकका लागि आवासको सम्पूर्ण चाँजोपाँजो मिलाइसकिएको उपसमितिले जनाएको छ। उपसमितिका अनुसार जुन–जुन सहरमा प्रतियोगिता आयोजन हुन्छ, त्यसै आसपासका सहरमा खेलाडीलाई राख्ने व्यवस्था मिलाइएको छ। जसअनुसार विराटनगरमा झन्डै ४७ होटल बुक गरिएको छ। जसमा १ हजार खेलाडीलाई राखिनेछ।

विशेष सुरक्षा व्यवस्था

पूर्वाञ्चलमा पहिलोपटकआयोजना हुन लागेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरेर विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। खेलकुदका लागि आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइसकिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ। पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआइजी केशरीराज घिमिरेले प्रतियोगितालाई सुरक्षित तुल्याउन आवश्यक सबै खाले सुरक्षा प्रबन्ध गरिएको र सोहीअनुसार मातहतका निकायलाई निर्देशन दिइसकिएको जानकारी दिए। उद्घाटन कार्यक्रमलाई मध्यनजर गरी विशेष सुरक्षा व्यवस्था मिलाइएको मोरङ जिल्ला प्रहरीले जनाएको छ।

प्रतियोगिता अवधिभर हुनसक्ने सम्भावित आपराधिक गतिविधिलाई रोक्न उद्घाटनस्थल र प्रतियोगिता हुने स्थलमा विशेष सुरक्षा सतर्कता अपनाइने मोरङ प्रहरी प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए। डिएसपी थापाका अनुसार ती क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने छ। प्रतियोगिता अवधिभर भिआइपी व्यक्तिहरू उपस्थित हुने हुँदा उनीहरूको सुरक्षार्थ नेपाल प्रहरीले सशस्त्र प्रहरीसँग सहकार्य गरेर सुरक्षा व्यवस्था मिलाएको डिएसपी थापाले बताए।

प्रतियोगिता अवधिभर प्रतियोगिता हुने सहरका होटेल तथा लजहरूमा समेत प्रहरीले विशेष निगरानी राख्ने भएको छ। विभिन्न ठाउँबाट आएका खेलाडी तथा आगन्तुकलाई सुरक्षाका हिसाबले कुनै जोखिम नहोस् भनेर आवश्यक सबै तयारी गरिएको प्रहरीले जनाएको छ।

सर्वसाधारणलाई प्रवेश निःशुल्क

सातौं राष्ट्रिय खेलकुदअन्तर्गत विराटनगरस्थित सहिद रंगशालामा सबैका लागि निःशुल्क प्रवेश दिइने भएको छ। सर्वसाधारणलाई बिहान १२ बजेदेखि कभर्ड हलको पूर्वपट्टिको द्वारबाट निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। राखेप सदस्य सचिव केशवकुमार विष्टका अनुसार पूर्वाञ्चलमै भव्यताका साथ हुन लागेको सातौं खेलकुदमा सर्वसाधारणको उत्साहलाई सम्मान गर्दै निःशुल्क प्रवेश दिन लागिएको हो। सुरुमा प्रतिव्यक्ति ३० रुपैयाँ लिएर रंगशालामा प्रवेश दिने तयारी भए पनि सबैतिरबाट आलोचना भएपछि प्रवेश निःशुल्क गरिएको हो।

प्रतियोगिताको औपचारिक उद्घाटन समारोहअन्तर्गत दिउँसो १ बजेदेखि नै अनौपचारिक कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ।उद्घाटन समारोहमा विभिन्न साँस्कृतिक पहिचानयुक्त झाँकी, नृत्य, परेड, मार्चपास समावेश गरेर उद्घाटन समारोहलाई भव्य बनाउने आयोजकको तयारी छ। प्रतियोगिता पुस १५ गते धरानमा समापन हुँदैछ ।

 

Leave A Reply

Your email address will not be published.