Ultimate magazine theme for WordPress.

पर्सामा काँग्रेस सभापतिमा द्विवेदी निर्वाचित

83

वीरगन्ज,माघ २८ : पर्सामा नेपाली काँग्रेसको १३ औं जिल्ला अधिवेशबाट पूर्व सभासद अजयकुमार द्विवेदी सभापतिमा निर्वाचित भएका छन्। यसअघि २ पटक जिल्ला सभापति भएर काम गरिसकेका द्विवेदीले जिल्ला विकास समितिका पूर्व सभापति जनार्दनसिंह क्षेत्रीलाई १ सय ९५ मतले पराजित गर्दै सभापति बनेका हुन्। बिहीबार पहिलो चरणको मतदानबाट कुनै एउटा उम्मेदवारले ५१ प्रतिशत मत हासिल गर्न नसकेपछि शुक्रबार भएको देस्रो मतदानमा द्विवेदीले ५५० मत ल्याए भने क्षेत्रीले ३५५ ल्याएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र कोइरालाले बताए । सचिव, कोषाअध्यक्ष र २५ जना जिल्ला समिति सदस्यको नतिजा आउन बाकी रहेको उनले बताए ।

बाँकी रहेको पदको मतको गणना भइरहेको उनले जानकारी गराए । पहिलो चरणमा द्विवेदी र क्षेत्रीसंगै अर्का नेता वशिष्ठनारायण कुर्मीले प्रतिस्पर्धा गर्दा कसैको पनि ५१ प्रतिशत बहुमत नआएपछि पार्टीको विधान अनुसार शु्क्रबार दोस्रो मतदान गरिएको कोइरालाले बताए । नेपाली काँग्रेसबाट अल्गिएर बनेको नेपाली काँग्रेस प्रजातान्त्रिक गठन हुँदा द्विवेदी पर्सा सभापति भए । पछि पार्टी एकीकरण हुँदा पनि उनी सभापतिको रुपमा मनोनयन भएर जिल्लाको नेतृत्व गरेका थिए।

१२ औं अधिवेशनमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद चौधरीबाट द्विवेदी पराजित भएका थिए। लगत्तै उनले संविधानसभाको दोस्रो निर्वाचनमा पनि पर्सा २ बाट आफुले पहिलो संबिधानसभामा जितेको सभासदको सिट गुमाए। पार्टीभित्र र आम निर्वाचनमा पराजय बेहोरेका द्विवेदी काँग्रेसका केन्द्रीय सदस्यद्वय अजय चौरसिया, रमेश रिजाल र क्षेत्रीलगायतसँगै संगठन बलियो बनाउनेतिर लागे। यसैबिच क्षेत्रीय अधिवेशनहरुबाट देउवा पक्षले ५० मध्ये ४५ मााधिवेशन प्रतिनिधि जित्न सफल भयो।

त्यसपछि कमजोर भएको संस्थापन पक्षले यस अधिवेशनमा उम्मेदवारलाई मैदानमा उतारेन। प्रभावशाली नेता चौरसियाको साथ पाउँदै आएका द्विवेदीलाई २ दिन अगाडि नै संस्थापनका नेता रहेका पूर्व जिल्ला पार्टी सभापति सांसद राजेन्द्रबहादुर आमात्यले समर्थन जनाईसकेका थिए भने शुक्रवार मतदान भइरहँदा निवर्तमान सभापति चौधरीले पनि समर्थन गरिदिएका थिए।

यसरी द्विवेदीले जित हासिल गरे। मतपरिणाम पक्षमा आइसकेपछि आफ्नो पहिलो सम्बोधनमा द्विवेदीले पर्सामा काँग्रेसलाई एकढिक्का बनाएर लैजाने उद्घोष गरे। अहिले जिल्लामा खेमा र गुटहरुमा बिभाजित पार्टीलाई एकढिक्का बनाउन त्यति सजिलो नभए पनि सालिन स्वभावका द्विवेदीले प्रयास गरे उनी सफल हुन सक्ने कार्यकर्ताहरुको भनाइ छ।

Leave A Reply

Your email address will not be published.