Ultimate magazine theme for WordPress.

पत्रकार महासंघका जिल्ला शाखाहरुमा धमाधम चुनाव

39

काठमाडौँ, फागुन ४ : नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुमा चुनाव लागेको छ। यसैक्रममा धमाधम पत्रकारहरुको जिल्ला शाखामा निर्वाचन हुने र नयाँ पदाधिकारी चयन हुने क्रममा बढिरहेको छ।

म्याग्दी
नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा म्याग्दीको अध्यक्षमा तारानाथ शर्मा निर्वाचित भएका छन्। शाखाको मङ्गलबार बेनीमा सम्पन्न पाचौंं अधिवेशनले शर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो। अधिवेशनले शाखाको पदाधिकारी, सदस्यसहित केन्द्रीय र क्षेत्रीय पार्षदसमेत सर्वसम्मत रुपमै निर्वाचित गरेको छ।

समितिको उपाध्यक्षमा ठाकुरप्रसाद आचार्य, रुद्रकुमारी खत्री (मालती), सचिवमा गोरखनाथ सुवेदी, कोषाध्यक्षमा हरिकृष्ण गौतम, सहसचिवमा कमल खत्री र गोपाल छन्त्याल निर्वाचित भएका छन्।

त्यस्तै, सदस्यहरुमा सुदर्शनकुमार श्रेष्ठ, प्रताप बानियाँ, पदम विश्वकर्मा, अमित विश्वकर्मा, आशिका मल्ल, सावित्रा सुवेदी र दिनेश फगामी चयन भएका छन्।

अधिवेशनबाट केन्द्रीय पार्षदहरुमा क्रमशः सुरत केसी, प्रकाश पौडेल, सवी बानिया, धु्रवसागर शर्मा र देवीप्रसाद शर्मा तथा प्रदेश पार्षदमा सन्तोष गौतम, घनश्याम खड्का, निर्मल खत्री, रामचन्द्र गौतम, प्रमोद शर्मा, गीता मिजार र कमल बानियाँ चयन भएका छन्।

गुल्मी
पत्रकार महासङ्घ, गुल्मी शाखाको मङ्गलबार सम्पन्न पाँचौँ अधिवेशनले नवराज भुसाललाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ।

१५ सदस्यीय समितिको उपाध्यक्षमा अनिल खत्री, सीता भण्डारी, सचिवमा टोपलाल अर्याल, सहसचिवमा घनश्याम खरेल, नारायण मरासिनी र कोषाध्यक्षमा तेजेन्द्रकुमार श्रेष्ठ रहेका छन्।

त्यस्तै, सदस्यहरुमा रेशम कुँवर, राजेन्द्र पन्थी, रामकृष्ण कँडेल, धनकुमारी नेपाली, कौरव खत्री, छवि पाण्डे र दधिराम खनाल रहेका छन्। महासङ्घको केन्द्रीय सभासद्मा घनश्याम गौतम, हरिकुमार श्रेष्ठ, जनार्दन घिमिरे, कमल पौडेल, गगनशिला खड्का, हरि पोखरेल र प्रेम सुनार चुनिएका छन्।

प्रादेशिक सभासदमा ज्ञानबहादुर महतरा, तिलक महत, हेमलाल भण्डारी, सञ्जीवनी अर्याल, अर्जुन भण्डारी, ताराप्रसाद भुसाल, मदन पौडेल र गणेश सारु निर्विरोध निर्वाचित भएको केन्द्रीय प्रतिनिधि सुरज आचार्यले बताए। प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरबीच सहकार्य भएपछि नेतृत्वसहित सबै पद निर्विरोध चयन गरिएको हो।

गोरखा
पत्रकार महासङ्घ, गोरखाको पाँचौँ अधिवेशन तथा आठौँ साधारण सभाबाट अध्यक्षमा किशोरजङ्ग थापा सर्वसम्मत चयन भएका छन्।

महासङ्घ गोरखा शाखाको संस्थापक अध्यक्षसमेत रहेका थापा लामो समयदेखि गोरखाको पत्रकारितामा क्रियाशील रहँदै आएका छन्। महासङ्घको मङ्गलबार राति अबेर सकिएको अधिवेशनबाट उपाध्यक्ष खुल्लामा दीपक श्रेष्ठ र महिला उपाध्यक्षमा अनुपमा खनाल चयन भएका छन्।

यस्तै, सचिवमा नरहरि सापकोटा, सहसचिव खुल्लातर्फ गुणराज रोका र समावेशीतर्फबाट रेणु श्रेष्ठ चयन भएको निवर्तमान अध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिए। कोषाध्यक्षमा हरिराम उप्रेती चुनिएका छन्।

महासङ्घको सदस्यमा सन्तोष अधिकारी, करिष्मा केसी, विकास मरहट्ठा, बिमल श्रेष्ठ, चाँदनी श्रेष्ठ, दानबहादुर गुरुङ र उद्धव कुमाल सर्वसम्मत चयन भएका छन्।

केन्द्रीय पार्षदमा निवर्तमान अध्यक्ष भीमलाल श्रेष्ठ, सुदीप कैनी, आत्माराम श्रेष्ठ र राजेन्द्र न्यौपाने, प्रदेश पार्षदमा प्रशन्न पोखरेल, अञ्जनबाबु खत्री, सङ्गम तिवारी र सुरेन्द्र देवकोटा सर्वसम्मत चयन भएको अधिवेशनका लागि खटिएका केन्द्रीय प्रतिनिधि रमेश बिष्टले बताए।

यस्तै, गोरखामा क्रियाशील पत्रकारद्वय नरहरि सापकोटा र किरणकुमार लोहनीलाई जनही रु पाँच हजारका दरले तुलसी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। भूकम्पअघि र पछि उनीहरुले गरेको रिपोर्टिङको कदर गर्दै २०७२ सालको लोहनीलाई र २०७३ सालको पुरस्कार सापकोटालाई प्रदान गरिएको हो।

तनहुँमा तालाबन्दी

पत्रकार महासङ्घको केन्द्रीय नेतृत्वले चुनाव जित्ने उद्देश्यले आफूखुसी जिल्लामा नयाँ सदस्य थपेको भन्दै त्यसको विरोधमा प्रेस युनियन तनहुँले मङ्गलबार महासङ्घ तनहुँको १० औँ अधिवेशन स्थगन गराएको छ।

युनियन तनँहु अध्यक्ष ओमकार आचार्यको नेतृत्वमा गएको टोलीले अधिवेशन स्थलमा ताला लगाई अधिवेशन स्थगन गराएको हो। युनियनमा आबद्ध पत्रकारले अधिवेशनस्थल कर्मचारी मिलन केन्द्रमा तालाबन्दी गरेका हुन्। युनियनले अधिवेशनस्थलमा तालाबन्दी गरेपछि फेरि त्यसको विरोध गर्दै प्रेस चैतारी, प्रेस सेन्टर र प्रेस सोसाइटीले महासङ्घको भवनमा पुगेर ताला लगाइदिएका थिए।

युनियन तनहुँका अध्यक्ष आचार्यले चुनाव जित्ने उद्देश्यले यहाँबाट सिफारिस गरिएका बाहेक नयाँ सदस्यता पठाइएकाले धाँधली हुने देखेर आफूहरुले तालाबन्दी अधिवेशनस्थलमा तालाबन्दी गरेको बताए। प्रेस चैतारी तनहुँका अध्यक्ष नारायण खड्काले युनियनले अधिवेशनस्थलमा ताला लगाउनु हारको मानसिकता भएको प्रतिक्रिया दिए। ‘उनीहरुलाई केन्द्रले नै पठाएको हो, हामीले केही गरेका छैनौँ’, उनले भने। युनियनले चुनाव स्थगन गराएर गलत कार्य गरेको उनको भनाइ थियो।

महासङ्घका केन्द्रीय प्रतिनिधि राजु लामा विवाद मिल्ने नदेखिएपछि अधिवेशन स्थगन गरी केन्द्रतर्फ फर्किएका थिए।रासस

Leave A Reply

Your email address will not be published.