Ultimate magazine theme for WordPress.

दुई वर्षमै १० वटा पाँच तारे नयाँ होटल

61

बिरगंज  सिटी ,पुष १२ :भूकम्पले थला पारेको पर्यटन क्षेत्र विस्तारै तँग्रदै छ। पर्यटक आगमनमा क्रमिक रुपमा सुधार हुँदै छ।

विशेषगरी, भारतबाट आउने पर्यटकको संख्यामा ठूलै वृद्धि भएको सस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ। सन् २०१६ को ११ महिनामा भारतबाट मात्रै १ लाख ५ हजार भन्दा बढी पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ।

पर्यटक आवागमनमा देखिएको उत्साहसँगै नेपालमा धमाधम तारे होटल निर्माण भइरहेका छन्। विशेषगरी, पर्यटकलाई लक्षित गरे औद्योगिक घरानाहरुले चार तारे र पाँच तारे होटन निर्माण गरिरहेका छन्। सन् २०१८ भित्र निर्माण कार्य पूरा गर्ने गरी एक दर्जन होटल निर्माण भइरहेका छन्।

व्यवसायीहरूका अनुसार मुलुकमा अर्को विपत्ति नआए सन् २०१८ सम्ममा १० वटा पाँच तारे होटल थपिने छन्। अहिले १८ वटा पाँचतारे होटल बन्ने प्रक्रियामा छन्। निर्माणको चरणमा रहेका तीनतारे र चारतारे होटलको संख्या पनि दुई दर्जनभन्दा बढी छ। सन् २०१८ भित्र थप १ हजार ५ सय ८० वटा नयाँ कोठा थपिदै छन्।

सन् २०१८ भित्र सञ्चालनमा आउने होटलमा २७ अर्ब ५ करोड रुपैयाँ लगानी हुँदै छ। २०१८लाई अन्तिम निर्माण गरिए पनि समयसीमाभन्दा अघि नै धेरै होटल सञ्चालनमा आउँछन्।

अहिले धमाधम निर्माण सुरु भइरहेको एम्बेस्टर होटलका सञ्चालक योगेन्द्र शाक्य भन्छन्, ‘यसले पर्यटन उद्योगलाई पनि नयाँ चरणमा लैजानेछ।’ नेपाल पर्यटकीय गन्तव्य मुलुक भएको र यहाँ आउने पर्यटकलाई उच्च स्तरीय सेवा प्रदान गर्न सुविधासम्पन्न होटल निर्माण भइरहेको उनको भनाइ छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेको लगानीमा होटल सेराटन काठमाडौंको लैनचौरमा निर्माण भइरहेको छ। करिब ८ अर्ब रुपैयाँको लगानीमा सिंगापुरको स्टारवुड ग्रुपले व्यवस्थापन सम्हाल्दै २०१८ को फेब्रअरीबाट सञ्चालन हुने गरी होटल निर्माण कार्य सुरु भएको थियो।

त्यसैगरी, स्टारउडकै व्यवस्थापनमा सञ्चालन हुने लैनचौरकै छायाँदेवी सेन्टरमा अलफ्ट काठमाडौं होटलको पनि निर्माण कार्य अन्तिम चरणमा छ। भवन निर्माण भएको र फिनिसिङ बाँकी रहेकोले सन् २०१८ बाटै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको होटलका प्रवद्र्धक सुमन पाण्डे बताउँछन्।

उद्योगपति शशीकान्त अग्रवाल नेतृत्वको एमएस समूहले पनि काठमाडौंको नक्सालमा पाँचतारे र ठमेलमा चारतारे होटल निर्माण गरिरहेको छ। यो काम अन्तिम चरणमा पुगेको छ।

  • छाँया सेन्टरको नमूना चित्र

अर्का उद्योगपति मोती दुगडले विराटनगरमा पाँचतारे होटल निर्माण गरिरहेका छन्। हङकङको सिल्भर हेरिटेजले भैरहवामा पाँचतारे रिसोर्ट टाइगर प्यालेस बनाउन सुरु भइसकेको कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईँ बताउँछन्। ३ अर्ब रुपैयाँ लगानी हुने यो रिसोर्टमा २ सय कोठा रहनेछन्। सिल्भर हेरिटेजका कार्यकारी अध्यक्ष बजगाईं भन्छन् ‘ होटल निर्माणमा प्रतिकूल अवस्थामा पनि लगानी भइरहेको छ जसबाट अर्थतन्त्रमा सकारात्मक प्रभाव र गुणात्मक प्रतिफलको आशा गर्न सकिन्छ।’

त्यस्तै, रुपन्देहीको भैरहवा–लुम्बिनी सडक खण्डको पर्सा चोकनजिक पवनकुमार हलवाई र रितु हलुवाईको संयुक्त लगानीमा पाँचतारे होटल बनाउने काम सुरु भइसकेको छ।

भैरहवामै हाल सञ्चालनमा रहेको बोधी रेडसन होटललाई पाँचतारेमा स्तरोन्नति गर्न लागिएको छ । सिद्धार्थनगर होटल व्यवसायी संघ (सान)अध्यक्ष सिपी श्रेष्ठले पनि भैरहवाको बेलहियामा पाँचतारे स्तरको होटल नान्स निर्माण गरिरहेका छन्। जापानी मूलका नेपाली नागरिक ताकासी मियाहाराले पोखराको सराङकोटमा पाँचतारे भ्यू अन्नपूर्ण होटल बनाइरहेका छन्। पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले २ अर्ब लगानीमा लैनचौरमा पाँचतारे होटल निर्माण सुरु गरेका छन्। होटल ली शेर्पामा १ सय २० कोठा रहने बताइएको छ।

  • निर्माणाधिन सेराटनको स्केच

घोषणा गरिएका तारे होटल
चौधरीले ललितपुरको पुल्चोक, त्रिपुरेश्वर र बूढानीलकण्ठमा ५० कटेजसहितको लक्जरी वेलनेस रिट्रिट सेन्टर र पोखराको सराङकोटमा ८० कोठा भएको पाँचतारे होटल बनाउने घोषणा गरेको छ। सुमार्गी समूहले पनि पाँचतारे होटलमा ५ अर्ब लगानी गर्ने घोषणा गरिसकेको छ।

समीट होटल खरिद गरेको समूहले कुपण्डोलस्थित होटलमा स्तरोन्नति र थप दुई होटलमा ६ अर्ब रुपैयाँ खर्चिने घोषणा गरिसकेको छ। होटल समिटलाई ‘वल्र्ड क्लास’ बुटिक होटलमा स्तरोन्नति गर्ने बताइएको छ। त्यस्तै, ठमेलमा एनआरएनए होटलसमेत निर्माण गर्ने घोषणा भइसकेको छ।

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा पाँचतारे होटल बनाउँदैछ। शंकर समूहले नक्सालमा पाँचतारे होटल निर्माण गर्ने घोषणा गरेर डिजाइनसमेत तयार पारिरहेको छ। नेपालगन्जमा सोल्टी होटलले ४० करोड रुपैयाँ खर्च गरेर चारतारे होटल निर्माण गरिरहेको छ।

काठमाडौं फनपार्क भ्यालीले चन्द्रागिरीमा सय कोठाको पाँचतारे होटल बनाउन थालेको छ।

Leave A Reply

Your email address will not be published.