Ultimate magazine theme for WordPress.

त्रिशुलीमा ट्रक खस्दा एक जना बेपत्ता

109

रत्ननगर, माघ १६ : चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना५ख ५६५४ नंको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसेर सो दुर्घटना भएको हो।

ट्रक सडकबाट करिब ७० मिटर तल त्रिशूली नदीमा पुगेको प्रहरीले जनाएको छ। चालक धादिङ खयरघारीका २० वर्षीय रामशरण वाग्लेको घाइते अवस्थामा उद्धार गरिएको र ट्रकमा सवार एकजना बेपत्ता भएको खुल्न आएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेको पहिचान नभएको जनाइएको छ। ट्रकमा अन्य मानिस कति थिए भन्ने नखुलेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ।

यसैबीच कुरिनटारमा आज बिहान अर्को ट्रक पल्टिँदा दुईजना घाइते भएका छन् । ट्रक पानीमा डुबेको अवस्थामा रहेको छ।

बिहान करिब १ः३० बजेको समयमा चितवनको दारेचोक गाविस–३ कुरिनटारमा आफैँ अनियन्त्रित भई ट्रक पल्टिएर २० फिट तल पुग्दा दुर्घटना भएको छ।

वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना६ख ४७२९ नंको मच्छड धुप बोकेको ट्रक अनियन्त्रित भई पल्टिएको चितवन प्रहरीले जनाएको छ।

सो दुर्घटनामा परी चालक सिन्धुपाल्चोकका २६ वर्षीय हरि बस्नेत र सहचालक सोही ठाउँका १८ वर्षीय नीरज भुजेल घाइते भएको प्रहरीले जनाएको छ। दुवै घाइतेको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। रासस

Leave A Reply

Your email address will not be published.