Ultimate magazine theme for WordPress.

तीन महिनामा १८६ भारतीय महिलाले पाए नेपाली नागरिकता

92

खजुरा (बाँके), माघ २५ : जिल्ला प्रशासन कार्यालय, बाँकेले पछिल्लो तीन महिनामा एक सय ८६ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको छ। नेपाली नागरिकसँग विवाह गरेकी भारतीय चेलीले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेको बाँकेका प्रजिअ रविलाल पन्थले जानकारी दिए।

उनका अनुसार गत कात्तिकदेखि पुस मसान्तसम्म ती भारतीय चेलीले नेपालीसँग विवाह गरेपछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेका हुन्। जिल्ला प्रशासन, बाँकेले अघिल्लो आवमा एक वर्षको अवधिमा नेपाली नागरिकसँग विवाह गर्ने तीन सय ८४ भारतीय चेलीलाई नेपाली नागरिकता प्रदान गरेको थियो।

यो जिल्ला प्रशासनबाट हरेक शुक्रबार वैवाहिक अङ्गीकृतको नागरिकता वितरण हुने गरेको छ। नेपाली नागरिकसँग विवाह गर्ने भारतीय चेलीले नेपाली नागरिकता पाउनका लागि विवाह दर्ता, पतिको नागरिकता र विदेशी नागरिकता त्यागेको प्रमाणसहितको निवेदन दिनुपर्ने हुन्छ।

हुलाकमा रजिस्ट्री गरिएको पत्र र निवेदनको प्रतिलिपिलाई पनि प्रमाणको रुपमा मान्ने गरिएको छ। नेपाली नागरिकता प्राप्त गर्नेलाई कर्मचारीले शपथ ग्रहण गराउने गरेको प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले जानकारी दिए। यहाँ अङ्गीकृत नागरिकताका लागि सातामा पाँचदेखि २५ जनासम्मको आवेदन आउने गरेको छ। रासस

Leave A Reply

Your email address will not be published.