Ultimate magazine theme for WordPress.

ट्रम्पले लगाएको यात्रा प्रतिवन्ध अदालतद्धारा अस्वीकार

105

वासिङ्टन, माघ २४ : अमेरिकाको एउटा अदालतले राष्ट्रपति डोनल्ड ट्रम्पले सात देशका यात्रु र सबै शरणार्थीमाथि लगाएको यात्रा प्रतिबन्ध पुनर्स्थापित गर्ने कानुन मन्त्रालयको अनुरोधलाई अस्वीकार गरेको छ। अदालतले ह्वाइट हाउसलाई र उसलाई चुनौती दिने राज्यहरुलाई थप तर्कहरु प्रस्तुत गर्न सोमबारसम्मको समय दिएको छ।

सातवटा मुसलमान बाहुल्य भएका देशका मानिसलाई प्रभावित गर्ने त्यो प्रतिबन्धलाई दुइवटा राज्यले असंवैधानिक भनिसकेका छन्। वैधानिक प्रवेशाज्ञा भएका मानिसलाई सही प्रकृयाविना यात्रा गर्नबाट रोक्ने हुनाले त्यो प्रतिबन्ध असंवैधानिक भएको वासिङ्टन र मिन्नेसोटाका कानुन व्यवसायीको तर्क छ। मुसलमानहरुलाई निशाना बनाएकोजस्तो त्यो प्रतिबन्धले धार्मिक स्वतन्त्रताको पनि उल्लंघन गरेको उनीहरुको भनाइ छ। तर कानुन विभागले राष्ट्रपतिको कार्यकारी आदेशलाई चुनौती दिने अधिकार ती राज्यसँग नभएको बताउँदै आएको छ।

यता, ट्रम्पले गरेको यात्रा प्रतिवन्धको जवाफमा इरानले आगामी महिना इरानमा हुने विश्वकप कुस्ती प्रतियोगितामा अमेरिकी खेलाडीलाई प्रवेशाज्ञा नदिने बताएको थियो।

प्रतिबन्धअन्तर्गत इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमनबाट अमेरिका पुग्ने मानिसको प्रवेशाज्ञा ९० दिनका लागि स्थगित गरिने छ। अमेरिकाको शरणार्थी कार्यक्रमलाई १२० दिनसम्म स्थगित गरिएको छ भने सिरियाली शरणार्थीमाथि अनिश्चितकालसम्म प्रतिबन्ध लगाइएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको यो कदमको विरोधमा अमेरिकाभित्रै र बाहिर पनि चर्को आलोचना भइरहेको छ। बीबीसी

Leave A Reply

Your email address will not be published.