Ultimate magazine theme for WordPress.

काठमाडौं उपत्यकापछि पोखरा, बाग्लुङ, पर्वत र म्याग्दी पूर्ण लोडसेडिङमुक्त

107

काठमाडौं,पुष १७: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले मुलुकमा आधारभूत रुपमा लोडसेडिङ अन्त्य भएको बताएका छन् । बाह्रखरीसँग कुरा गर्दै उनले लोडसेडिङ पूर्ण रुपमा हटाउन लागि परेको जानकारी दिँदै मुलुक अब आधारभूत रुपमा लोडसेडिङमुक्त भएको बताए ।
“लोडसेडिङ पहिलेको जस्तो अब हुँदै हुँदैन,” उनले भने “आधारभूत रुपमा लोडसेडिङ हटिसकेको अवस्था छ ।”
सानातिना प्राविधिक समस्याले विद्युत आपूर्ति अवरुद्ध हुने गरेको उनको भनाई छ । उनले काठमाडौं उपत्यकाका अतिरिक्त पोखरा, बाग्लुङ, पर्वत र म्याग्दी पूर्ण रुपमा लोडसेडिङमुक्त भइसकेको बताएका छन् । यस्तै पूर्व क्षेत्रमा पनि लोडसेडिङ नभएको उनले जानकारी दिए । तत्काल लोडसेडिङ् हटाउन भारतबाट बिजुली आयात बढाइएको उनले जानकारी दिए ।
प्राधिकरणले उपत्यकाबाहिर पनि औसत दैनिक २ घण्टा मात्र लोडसेडिङ भएको बताएको छ ।
शनिबार राती १२ बजेदेखि भारतबाट थप ४० मेगावाट बिजुली आयात भएको छ । यो समेत गरी भारतबाट बिजुलीको आयात बढेर ३४० मेगावाट पुगेको छ । भारतको मुज्जफपुर–ढल्केबर अन्तरदेशीय प्रसारणलाइनबाट थप बिजुली आयात  भएको हो । यस्तै अर्को महिना प्रणालीमा थप ४० मेगावाट बिजुली थप हुनेछ ।

लोडसेडिङ हटाउन विद्युत प्राधिकरणले भारतबाट ५६० मेगावाटसम्म बिजुली आयातको तयारी गरेको छ ।
नदीमा जलस्तर घट्दै गएर विद्युत उत्पादनमा कमी आएपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट थप बिजुली आयात गर्न लागेको हो ।

जलप्रवाह कम भएपछि कालिगण्डकी, मध्यमस्र्याङदी, मस्र्याङदी र खिम्तीलगायत ठुला आयोजनाबाट विद्युत उत्पादन आधा घटेको छ ।
साउनयता ९७ मेगावाट क्षमताका आधादर्जन जलविद्युत आयोजना सम्पन्न भइ प्रणालीमा ३३ मेगावाट बिजुली थप भइसकेको छ ।
अन्य आयोजनाबाट परीक्षणका रुपमा विद्युत उत्पादन भइरहेको विद्युत प्राधिकरणले जनाएको छ ।
यस्तै अन्य प्रसारणलाइन निर्माण र स्तरोन्नतिको काम भइरहेकाले सम्पन्न भएपछि मात्र थप बिजुली आयातका लागि पीपीए हुनेछ ।

जसअनुसार कटैया–कुसाह र परावनीपुर–रक्सौलमा १३२ केभी प्रसारणलाइन निर्माण भइरहेकाले सम्पन्न भएपछि मात्र दुई लाइनबाट थप १ सय मेगावाट आयातका लागि पीपीए हुने प्राधिकरणले जनाएको छ । कटैया–कुसाहबाट हाल १३० मेगावाटसम्म आयात भइरहेकोमा क्षमता बढाएपछि थप ५० र परवानीपुर–रक्सौलबाट थप ५० मेगावाट बिजुली आयात हुँदैछ ।
अहिले भारतबाट आइरहेको बिजुलीमा २२० मेगावाट थप गर्दा देशभर लोडसेडिङ् नहुने प्राधिकरणको अनुमान छ । भारतबाट गतवर्षसम्म ३४७ मेगावाटसम्म बिजुली आयात भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.