Ultimate magazine theme for WordPress.

अनेरास्ववियुमा चरम विवाद, उपाध्यक्षले ‘तेस्रो सर्कुलर’ ल्याउँदै

80

काठमाडौं: नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा यतिखेर आन्तरिक कार्यविभाजनको सन्दर्भलाई लिएर चरम विवाद देखिएको छ । महासचिव ऐन महरले अध्यक्ष नविना लामालाई समेत वाइपास गर्दै ल्याएको एकपक्षीय सर्कुलरका विरूद्ध माधव नेपाल पक्षले शुक्रबार छुट्टै अर्को सर्कुलर जारी गरेको थियो । तर ओली पक्षकै मानिएका अर्का उपाध्यक्ष शैलेस लामाले पनि छुट्टै सर्कुलर पठाउने घोषणा गरेका छन् ।

प्रस्तुत छ अनेरास्ववियु भित्रको विवादलाई लिएर उपाध्यक्ष शैलेस लामासंगको कुराकानीःअनेरास्ववियु भित्रको अहिले देखिएको विवादको चुरो कुरो के हो ?

धुलिखेलमा बसेको प्रथम पुर्ण बैठकले गरेका निर्णयहरु, अखिलको स्थायी कमिटीमा पठाईएको म्याण्डेट अनुसार निर्णय भएका विषयहरु १० महिनासम्म सर्कुलरका रुपमा पठाउन आनाकानी गरियो । आज त्यतिवेलै सर्कुलरका नाममा भएका निर्णयलाई तोडमोड गरेर निर्णय नै नभएका कुराहरु समावेश गरी विधि(विधानको धज्जी उडाउँदै संगठनको अध्यक्षको समेत सहमति नलिई व्यक्तिगत ढंगले महासचिवले सर्कुलर जारी गर्न खोजेपछि अखिलमा विवाद देखिएको हो । त्यसैले संगठनको विधि मान्ने र नमान्ने अथवा संस्थागत निर्णयलाई मान्ने वा व्यक्तिगत निर्णय गर्न खोज्नेहरु विचको विवाद हो यो ।

संगठनभित्रकै अर्को माधव नेपाल समुहद्धारा जारी गरिएको सर्कुलरबारे तपाईको धारणा के छ ?

संगठनको कार्यकारी ठाउँमा रहेकाहरुले नै संगठनको विधी(विधानको धज्जी उडाउँदै संस्थागत परिपाटीभन्दा बाहिर गएर विद्रोही शैलिमा उत्रिन खोजेपछि त्यो पक्षले पनि सर्कुलर ल्याउने कुरा र समानन्तर गतिविधि गर्ने कुरा अस्वभाविक मान्न सकिंदैन । तथापी उहाँहरु पनि संगठनले संस्थागत रुपमा गरेका निर्णयहरुमा सहमत नै हुनुहुन्छ भन्ने लाग्छ । असन्तुष्टहरुको मुख्य जोड व्यक्तिगत होइन की संस्थागत निर्णय हुनुपर्छ भन्ने हो ।

त्यसो भए तपाईहरुले ल्याउने तेस्रो सर्कुलर संस्थागत हुन्छ त ?
यो हाम्रो चाहना नभई वाध्यता हो । संगठनमा भएका विमतीहरुलाई अनेकौं पटक मिलाउने प्रयत्न गरियो तर प्रयास जारी रहँदा रहँदै साथीहरुले सर्कुलरका नाममा व्यक्तिगत पर्चा बाँडेर संगठनको मुल्य र मान्यता माथि धावा बोल्नु भयो । त्यस पश्चात हामी केही मन मिल्ने साथीहरु बस्यौं र निष्कर्श निकाल्यौं की, ‘नालीको फोहर यदि सफा गर्नुछ भने परबाट हेरेर आफैं सफा हुँदैन, फोहर सफा गर्न चाहनेहरु स्वयंम फोहोरमा पस्नुपर्दछ’ भन्ने तितो सत्यलाई आत्मसाथ गर्दै संगठनभित्रको अराजकतालाई अन्त्य गर्न र संगठनको मुल स्प्रिटलार्इ कायम राख्न अर्को सर्कुलर जारी गर्दैछौं ।

स्ववियु निर्वाचन र मातृपार्टी स्वयंम आन्दोलनमा भएको बेला तपाईहरुको आन्तरिक विवाद वेमौसमको बाजा भएन र ?

हो, यतिवेला हाम्रो ध्यान राष्ट्रिय राजनीतिमा भईरहेको वेथिती विरुद्ध नेकपा एमाले आन्दोलित भईरहेकै सन्दर्भमा केन्द्रित हुनुपर्ने थियो । साथै निकट समयमा हुने भनिएको स्ववियु निर्वाचन उन्मुख कार्यक्रममा अगाडि बढ्नुपर्ने थियो तर केही व्यक्तिको मनोमानी चरित्रका कारण संगठनको आन्तरिक मतभेद सडकमा छताछुल्ल हुनु निकै दुःखद छ । यद्यपी हामी आन्तरिक विवादको न्युनिकरण गर्दै पार्टीले गरिरहेको आन्दोलन र स्ववियु निर्वाचन केन्द्रित कार्यक्रम अगाडि बढाउनेछौं ।

अन्तमा विवादको समाधान कसरी हुन्छ त ?
सवै साथीहरु संगठनको आधिकारिक विधानलाई आत्मसाथ गर्दै कार्यन्वयनमा लैजाने कुरामा एकमत छन् । सामान्यतया विधान भन्नेवितिकै यो संस्थामा अधिनस्थ मान्छेहरुलाई गाईवस्तु बाँधे जस्तै बाँध्ने दाम्लो हो । त्यसैले विधानमा टेकेर आगाडि बढ्ने हो भने विवादको समाधान टाढा छैन ।

Leave A Reply

Your email address will not be published.