Ultimate magazine theme for WordPress.

साइरन बजाउँदै एम्बुलेन्समा गाँजा तस्करी

42

काठमाण्डौं, फागुन १८ : बिहानै एउटा एम्बुलेन्स साइरन बजाउँदै हुँइकियो, सँगसँगै थियो नेपाल प्रहरी र सशस्त्र प्रहरी बल विओपी हरिपुरको संयुक्त गस्ती। हस्याफस्याङ गर्दै दौडिएको गस्ती टोलीको उद्धेश्य पुरा भयो। एम्बुलेन्समा बिरामी होइन, टनाटन गाँजा खाँदिएको थियो।

यो घटना मंगलबार झिसमिसे बिहानको हो। सुनसरी जिल्लाको हरिपुर गाविस ९, भाण्टाबारीमा समातिएको थियो यो एम्बुलेन्स। ‘भारततिर तस्करी हुँदै गरेको दुई सय किलो गाँजासहित पक्राउ गरियो,’ सशस्त्र प्रहरी मुख्यालय, सूचना शाखाका इन्स्पेक्टर शैलेन्द्र थापाले नेपालखबरसित भने, ‘सुनसरीको चतराबाट भारतको बीरपुरतिर तस्करी हुँदै गरेको थियो।’

गाँजा तस्करीको नयाँ तरिका एम्बुलेन्समार्फत् ढुवानी पनि भएको सुराकीले सूचना दिँदै आएको स्थानीय प्रहरीले जनाएको छ। भारतीय बजारमा राम्रो मूल्यमा बेच्न पाइने भएकोले यस्ता ‘सुरक्षित’ सवारी साधनहरु तस्करीमा प्रयोग हुने गरेको बताइएको छ।
प्रहरीका अनुसार, हिजो समातिएको एम्बुलेन्स को १ च ५५०५ नम्बरको हो, जुन ठाकठाकु माओहाङ चेम्जोङ वंश उत्थान संघ धरानले सञ्चालन गर्दै आएको छ। एम्बुलेन्समा सातवटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा फेला परेको हो।

एम्बुलेन्स चालक फरार रहेको र एम्बुलेन्समा रहेका बोलश्याम मण्डल पक्राउ परेका छन्। सप्तरी घर भएका मण्डल सुनसरी, हरिपुरमा बस्दै आएका थिए। एम्बुलेन्स, गाँजा र मण्डललाई जिल्ला प्रहरी कार्यालय इनरुवा अनुसन्धानका लागि राखिएको छ।

भोजपुर, धनकुटा, संखुवासभालगायतका जिल्लामा उत्पादन गरिएको अवैध गाँजा सप्तकोसी नदीको पानीमा बाँस सँगसँगै बगाएर तराई झारेपछि स्थानीय व्यापारीले खरिद गर्ने र विभिन्न माध्यमबाट भारतीय बजार पुर्‍याउने गरेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.