Ultimate magazine theme for WordPress.

‘सङ्घीय प्रणालीमा स्थानीय चुनाव गराउने अधिकार काठमाडौँलाई छैन’

23

राजविराज (सप्तरी), चैत १४ :सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका छन्। उनले भने, ‘सङ्घीय प्रणालीमा स्थानीय चुनाव गराउने अधिकार काठमाडौँलाई छैन।’

सप्तरीमा प्रहरीको हातबाट ज्यान गुमाएका पाँच जना मधेसी मोर्चाका कार्यकर्ताको आइतबार मलेठस्थित राजविराज औद्योगिक क्षेत्रमा आयोजित श्रद्धाञ्जलि सभामा उनले यस्तो बताएका हुन्। मधेसको स्थानीय चुनाव गराउने अधिकार मधेस सरकारको भएको दाबी उनको थियो। ‘यदि चुनाव गराउनु छ भने केन्द्रको गराओस्’, उनले सरकारप्रति चेतावनीको भाषामा भने।

तराई मधेस लोकतान्त्रिक पार्टीका (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव आए मात्र निर्वाचनमा जाने बताए।
यस्तै, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकका तीन ठूला दलबाट मधेसप्रति भेदभाव भइआएको बताए।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले २ नम्बर प्रदेशलाई छाडेर निर्वाचन गराए त्यसपछि कुनै पनि सरकारले त्यहाँ निर्वाचन गर्न नसक्ने बताए।
फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सीमाङ्कनलाई थाती राखेर वा छाडेर सहमति हुन नसक्ने धारणा राखे।

मधेसको अधिकार प्राप्तिका लागि एउटै बलियो पार्टी बनाउनुपर्नेमा मोर्चाका शीर्ष नेताले सम्बोधनका क्रममा जोड दिएका छन्।

दुई साता अगाडि नेकपा (एमाले) को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठस्थित राजविराज औद्योगिक क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर पाँच जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो भने दुई दर्जन घाइते भएका थिए। रासस

Leave A Reply

Your email address will not be published.