Ultimate magazine theme for WordPress.

संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुन सक्छ : सभापति देउवा

49

चितवन, २९ मंसिर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुनसक्ने बताएका छन् । त्यही कारण पुरानै संरचनामा निर्वाचन गर्ने तयारी थालिएको उनको भनाई छ ।

नेपाल महिला सङ्घ केन्द्रीय समितिले आइतबार यहाँ आयोजना गरेको निर्वाचन तथा महिला अधिकारसम्बन्धी नेतृत्व विकास तालिमको उद्घाटन गर्दै उहाँले यसबारेमा आफूले नेकपा (एमाले)का अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेको बताए । विसं. २०७४ माघभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले दलहरुबीचमा सहमति गरेर अगाडि जानुपर्ने उनले बताए । उनले भने, ‘संविधानले पूर्णता नपाए देश दुर्घटनातर्फ जानसक्छ । गणतन्त्र कसैले खोस्न सक्छ ।’ ठूलो पार्टी भएकाले संविधान निर्माणको नेतृत्व गरेको काँग्रेसले अहिलेको निकास फुकाउने काम गर्नुपर्ने बताए । राणा, पञ्चायत र राजा फ्याँकेर लोकतन्त्र र गणतन्त्र स्थापनामा काँग्रेसको नेतृत्वदायी भूमिका भएको बताए । भने, ‘संविधानको निर्माणमा काँग्रेसले नेतृत्वदायी भूमिका मात्रै होइन, कार्यान्वयनमा पनि गराएरै छाड्छ ।’

उनले स्थानीय निकायको चुनाव जसरी पनि हुने बताए । सभापति देउवाले भने, ‘स्थानीय निकायको चुनाव हुन्छ, हुन्छ, हुन्छ ।’ संविधान संशोधन प्रस्तावमार्फत् चित्त नबुझेकाको माग पूरा गरेर संविधान कार्यान्वयन गर्ने उद्देश्यका साथ प्रस्ताव लगिएको बताए । संसद्मा प्रस्ताव लगे पास हुने डरले एमालेले संसद् चल्न नदिएको उनको आरोप छ ।

संशोधन प्रस्ताव असफल बनाउन एमालेलाई चुनौती

उनले ससद्मा प्रस्ताव असफल बनाएर देखाउन एमालेलाई चुनौती दिए । भने, ‘कुनै पनि हालतमा संसद् खोल्नुपर्छ, नखोले यसको सबै जिम्मेवारी एमालेको टाउकोमा आउँछ । यसको पूर्ण जिम्मेवार एमाले हुनुपर्छ ।’ सीमा जोगाउने काममा मधेसी जनताको ठूलो भूमिका रहेको भन्दै उहाँले नेपाली भूमिका माया उनीहरुलाई झन् बढिरहेको बताए । भने, ‘सुस्तामा अधिकांश मधेसी छन्, त्यहाँका सीमा रक्षा गर्न उनीहरु लडिरहेका छन् ।’

विश्वमा नै महिलाले नपाएको अधिकार नेपालमा पाएको भन्दै देउवाले नेतृत्व गर्नसक्ने गरी नेतृत्व विकास गर्न आग्रह गरे । भने, “स्थानीय तहदेखि माथिल्लो तहसम्म महिलाले नेतृत्व गर्नुपर्छ, तपाईहरु तयार हुनुहोस् ।” आउँदो निर्वाचनमा काँग्रेसले जित्नुपर्ने भन्दै उहाँले ४० प्रतिशत आरक्ष कोटासमेत रहेकाले नेतृत्वका लागि तयार रहन महिला कार्यकर्तालाई आग्रह गरे । तिनै तहको निर्वाचनमा काँग्रेसले जिते मात्रै नेपालको प्रजातन्त्र कसैले खोस्न नसक्ने बताए ।

सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले देशलाई निकास दिनका लागि संविधान संशोधनको प्रस्ताव पेस भएको बताए । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संशोधन प्रस्ताव पेस भएको भन्दै उनले जसका लागि ल्याइएको हो, उसैलाई आवश्यक नभए आफूहरुले केही गर्न नसक्ने बताए । यस विषयलाई अतिरञ्जिन गरिएको भन्दै उहाँले आक्रोशसमेत पोखे । आउदो निर्वाचनमा काँग्रेसको जितका लागि गाउँ तहदेखि महिला सशक्त रुपमा लाग्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेत, डिना उपाध्याय, सचेतक ईश्वरी न्यौपाने, केन्द्रीय सदस्य देवेन्द्र कँडेल, जिल्ला सभापति जीतनारायण श्रेष्ठलगायत नेपाली काँग्रेसका सांसदले महिला अधिकारका विषयमा बोले । तीन दिनसम्म चल्ने सो तालिममा महिलालाई कसरी नेतृत्व तहसम्म ल्याउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइने सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले बताइन् । तालिममा प्रदेश नं ३ का १३ जिल्लाका महिला नेतृहरुको सहभागिता छ ।

 

Leave A Reply

Your email address will not be published.