Ultimate magazine theme for WordPress.

संघीय गठबन्धनको निर्णय- ‘परिमार्जन सहितको संशोधन प्रस्ताव मात्र स्वीकार्य’

67

काठमाडौँ,पुष २० : सङ्घीय गठबन्धनले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने निर्णय गरेको छ।

आज बसेको गठबन्धनको बैठकले सरकारले परिमार्जनसहित संशोधनको प्रस्ताव ल्याए मात्र त्यसमा जान सकिने निर्णय गरेको गठबन्धनका संयोजक एवम् सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।

गठबन्धनले संशोधनका सम्बन्धमा यसअघि राखेको परिमार्जनको माग यथावत् राखेको छ र उसले सरकारले परिमार्जन गर्न कुनै गृहकार्य नगरेको गुनासो समेत गरेको छ। बैठकले संशोधनका सम्बन्धमा सर्वोच्च अदालतले गरेको निर्णय उचित भएको जनाउँदै ‘अदातलले जे गर्नुपर्थ्यो त्यही गरेको’ निष्कर्ष निकालेको छ ।

गठबन्धनले संशोधनको प्रस्ताव अघि नबढाई घोषणा हुने निर्वाचनको कुनै अर्थ नहुने निष्कर्ष निकालेको संयोजक यादवले बताए। गठबन्धनका संयोजक उपेन्द्र यादवका प्रेस सहयोगी महेश चौरासियाका अनुसार गठबन्धनले संविधानको धारा २७४ खारेजीको समेत माग गरेको छ। जसमा प्रदेशको सीमाना प्रदेश सभाको स्वीकृति बेगर परिवर्तन नहुने उल्लेख छ। उनले ६ बुदेँ गठबन्धनको निर्णय समेत सार्वजनिक गरेका छन् –

१. संशोधन रोक्न नहुने सर्वोच्चको आदेश सकारात्मक ।
    २. परिमार्जन नभए संशोधन विधेयक मान्य नहुने ।
    ३. मुआब्जा दिएर मात्रै सडक बिस्तार गर्नु पर्ने ।
    ४. प्रदेश संख्या हेरफेर गर्न बन्देज गरेको धारा २७४ खारेज गर।
    ५. संसद् अवरोध गर्नु एमालेको कदम अलोकतान्त्रिक ।
    ६. संविधान संशोधन पछि मात्रै चुनाव, नभए चुनाव अमान्य ।

बैठकमा संयोजक यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, सद्भावना पार्टीका महासचिव मनिष सुमन, सङ्घीय लिम्बूवान् पार्टी नेपालका कुमार लिङ्देन, थरुहट तराई पार्टीका भानुराम थारुलगायत उपस्थित थिए।रासस/ फाइल फोटो

Leave A Reply

Your email address will not be published.