Ultimate magazine theme for WordPress.

राप्रपाको समर्थन फिर्तापछि प्रचण्ड सरकारले बहुमत गुमायो कि कायमै छ ?

46

बैशाख, काठमाडौं १९ : कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाले ३७ भोटको प्रतिनिधित्व गरेको थियो ।

राप्रपा बाहिरिएपछि अब प्रचण्ड सरकारले बहुमत गुमायो कि कायम छ ? धेरै मानिसहरुमा यस्तो जिज्ञासा छ ।

आउनुहोस् यसबारेमा संसदमा रहेको अंकगणितको चर्चा गरौंः

व्यवस्थापिका संसदमा यतिबेला ५९३ सांसदको प्रतिनिधित्व छ । यसमध्ये सरकार टिक्नका लागि आवश्यक पर्ने मत भनेको २९७ हो ।

राप्रपा सरकारबाट बाहिरिएको अवस्थामा अब सत्तापक्षको भोट हिसाब गर्दा कांग्रेससँग २०७, माओवादीसँग ८१ र नेकपा संयुक्तसँग रहेको ३ भोट जोड्दा २९१ भोट पुग्छ । एक-एक सांसद भएको अखण्ड नेपाल र समाजवादी जनता पार्टी पनि सरकारमै छ । यसमा ४ भोट थपियो भने प्रचण्ड सरकारको बहुमत पुग्छ ।

विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । सरकारलाई समर्थन गर्दा फोरम लोकतान्त्रिको १४ सांसद थियो । अहिले साना दलहरुसँग एकता गरेर १७ सांसद भएको छ ।

फोरम लोकतान्त्रिकको संसदीय दलको बैठकमा सोमबार पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टी अध्यक्ष गच्छदारलाई प्रधानमन्त्री प्रचण्डको फोन आयो । र, बैठक स्थगित गरेर उनी बालुवाटार हानिए । अब यसबारे भोलि मात्र छलफल गरिने फोरम लोकतान्त्रिका सांसद योगेन्द्र चौधरीले अनलाइनखबरलाई बताए ।

प्रधानमन्त्री प्रचण्डले सोमबार नै संघीय समाजवादी फोरमका नेताहरुसँग छलफल गरेका छन् । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी भएको र आफूहरुले सरकार अल्पमतमा परेकाले कांग्रेससँग छलफल गरेर तत्काल कुनै एउटा निर्णयमा पुग्न सुझाएको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

प्रचण्ड सरकार गठनका क्रममा मधेसी मोर्चाले सरकारबाट बाहिरै रहेर समर्थन जनाएको थियो । तर, अहिले पनि मोर्चाको अवस्था ‘न सरकारमा, न सरकार बाहिर’ को स्थितिमा छ । यो स्थितिमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले राप्रपाले जस्तै गरी महाअभियोग प्रस्तावलाई लिएर प्रचण्ड सरकारप्रति विरोध जनाएको छ । उपेन्द्र यादवसँग संसदमा १५ सांसद छ ।

पछिल्लो घटनाक्रम हेर्दा महाअभियोग प्रकरणको विरोधमा एमाले, राप्रपा र संघीय समाजवादी फोरम एकै ठाउँमा उभिएका छन् । एमालेसँग १८१, राप्रपासँग ३७ र संघीय समाजवादीसँग रहेको १५ मत जोड्दा २३३ मत पुग्छ, जुन महाअभियोगको विपक्षमा खडा भएको छ ।

तर, संसदमा राष्ट्रिय जनता पार्टीसँग २४ मत छ, जुन मत सरकारको समर्थनमा प्रयोग हुने सम्भावना देखिएको छ । यो स्थिति रहेमा प्रचण्ड सरकार सुविधाजनक बहुमतमा छ ।

यसरी विश्लेषण गर्दा राप्रपा सरकारबाट बाहिरिए पनि सरकार ढलिहाल्ने अवस्था बनेको देखिँदैन । तर, विपक्षीले माग गर्‍यो भने आगामी २१ गते वा त्यसको अघिपछि प्रधानमन्त्रीले संसदमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था चाहिँ नआउला भन्न सकिन्न ।

Leave A Reply

Your email address will not be published.