Ultimate magazine theme for WordPress.

यस्तो पो नेपाली कलाकारको राजनीति !

146

काठमाडौं । बलिउडका थुप्रै कलाकरहरु राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । केही नामुद राजनीतिक खेलाडी भएर उभिए भने केहीको कलाकारिता र राजनीतिसँगै चलेको छ ।

केही दिनअघि निधन भएकी तमिलनाडुकी मुख्यमन्त्रीमन्त्री जयललिता एक समय बलिउडमै तहल्का मच्चाएकी थिइन् । भारतीय कलाकारको पदचाप पछ्याउँदै नेपाली कलाकारहरुको पनि राजनीतिप्रतिको आकर्षण बढ्दै गएको छ ।

नेपालमा पनि पछिल्लोसमय कलाकारिता क्षेत्रमा भविष्य दख्खल बनाएपछि राजनीतिक पार्टीमा प्रवेश गर्ने लहड चलेको छ । सेलिब्रिटीहरुलाई भित्र्याउँदा राजनीतिक दलहरुमा पनि माहोल बढ्ने नेताहरुको बुझाइ छ । त्यसैले आँखा चिम्लिएरै कलाकारहरुलाई आफ्नो पार्टीमा भित्र्याइरहेका भेटिन्छन् ।

‘सेलिब्रिटी’ का कारण राजनीतिक पार्टीका कार्यक्रमहरुमा मास जमाउन खासै ठूलो कसरत पर्दैन भन्ने राजनीतिक दलहरुको बुझाइ छ । ‘सेलिब्रिटी’लाई चुनावमा टिकट दिएर उठाउँदा कयौं ठाउँमा जित हासिल गरेका विदेशका उदाहरण पनि छन् । सायद त्यसैको प्रभावले होला राजनीतिक विचारशून्य कलाकारहरुलाई ठूलै प्रलोभन देखाएर तामझामका साथ पार्टीमा भित्र्याउने नेपालमा पनि फेसनजस्तै भएको छ ।

विभिन्न पार्टीका कार्यक्रममा कलाकारहरु उपस्थिति गराइए पनि उनीहरु ब्यवसायिक रुपमा मात्रै आफ्नो प्रस्तुती देखाउँछन् भने केही राजनीतिक आस्थाका कारण कार्यक्रममा मनोरञ्जन दिन आइपुग्छन् ।

तत्कालिन नेकपा माओवादीले राजधानीमा ६ दिने आमहड्तालको घोषणा गर्दा नायिक रेखा थापा पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग कम्मर मर्काएर नाँचिन् । रेखा–प्रचण्डको नाँचको मात्रै चर्चा भएन, उनी प्रचण्डको हातबाट माला लगाएर माओवादी प्रवेश गरिन् ।

माओवादी छाडेर नयाँ शक्ति पार्टी बनाएका डा.बाबुराम भट्टराई पनि एक समयकी चर्चित नायिका करिष्मा मानन्धरलाई केन्द्रीय नेता नै बनाएर आफूसँगै हिडाउने गरेका छन् । अमेरिकामा रहेका अभिनेता सरोज खनाल पनि फुर्सदमा काठमाडौं आएकबेला भट्टराईका कार्यकर्ता बनेर लागे । लोकदोहोरी कलाकार बद्री पंगेनीदेखि नेपाली सिने क्षेत्रका अभिनेता भुवन केसीसम्मको चर्चा बेलाबखतमा सुनिएका छन् । तर कलाकारको राजनीति भने कहिँ पनि स्थायी रुपले देखिएका छैनन् ।

भट्टराईको दाहिना भइन् करिष्मा

 

कुनैबेला नेपाली सिने क्षेत्रकी चर्चित नायिका हुन् करिश्मा मानन्धर । तर सिने क्षेत्रबाट ओझेलिँदै उनी अमेरिकातिर भासिइन् । अमेरिकातिर भासिएपछि गुमनाम भएकी करिष्मा एक्कासी माआवादी छाडेर नयाँ शक्ति पार्टी खोलेका भट्टराईको पार्टीमा झुल्किइन् । सेलिब्रिटीलाई आफ्नो पार्टीमा भित्र्याउन पाएकोमा भट्टराई पनि मख्ख परे । उनले करिष्मालाई एक्कासी केन्द्रीय परिषद् सदस्य बनाएर राजीतिक यात्रामा आफूसँगै डोर्याएका छन् ।

पार्टी निर्माण अभियानदेखि नै नयाँ शक्तिकी अभियन्ता बनेकी करिष्मा ०७३ जेठ ३० गते दशरथ रंगशालामा पार्टी घोषणा सभाको कार्यक्रम सञ्चालिका भइन् । तर सेलिब्रिटी नायिकाको कार्यक्रम सञ्चालन भने निकै खल्लो बन्यो । त्यसपछि उनको निकै आलोचना भयो । राजनीति छाडेर फेरि अमेरिका भासिने तयारीमा पुगिन् । तर भट्टराईले उनले अहिलेसम्म जोगाएर राखेका छन् ।

केही दिन झुल्किए, फेरि मिल्किए सरोज

नेपाली सिने क्षेत्रका अर्का चिरपरिचित कलाकार हुन्, सरोज खनाल । प्रेमपिण्डदेखि नाइ नभन्नु ल सम्म दर्जनौं नेपाली सिनेमामा खेलेका खनाल पनि सिनेमाको कमाइले नपुगेपछि अमेरिकातिर भासिए । नेपाली सिने क्षेत्रको अब्बल कलाकारमा स्थापित भइसकेपछि अमेरिकाको ग्रीन कार्ड लिएर अमेरिकामा बस्दै आएका खनाल पनि एक्कासी नयाँ शक्तिमा झुल्किए । चितवनमा अण्डा ब्यवसायसमेत गर्दै आएका खनालले २०७२ वैशाख १२ को शक्तिशाली भूकम्पपछि भूकम्पप्रभावित क्षेत्रमा सहयोगमा जुटेका थिए ।

भट्टराईको पार्टी घोषणाअघिदेखि नै नयाँ शक्तिका अभियन्ता बनेका खनाल पार्टी घोषणासभासम्म आइपुग्दा पनि हराइसकेका थिए । पार्टी निर्माण अभियनमा सक्रिय देखिएका उनलाई केन्द्रीय परिषद् सदस्यसमेत बनाइएको थियो । तर उनी अहिले फेरि गुमनाम छन् ।

उम्मेदवारी फिर्तापछि पार्टीबाटै फिर्ता

नेपाली चलचित्र क्षेत्रका अर्का एक परिचित कलाकार हुन्, भुवन केसी । नेपाली सिनेमाको हिरोदेखि निर्मातासम्म भएका अभिनेता भुवन केसी संविधानसभाको दोस्रो निर्वाचनका बेला एमाले भए ।

एमाले भएपछि तत्कालै समानुपातिकबाट उम्मेदवारी सिफारिस पनि भयो । तर भुवन केसीको सिफारिसले एमालेभित्रै खैलाबैला मच्चिएपछि केसीको नाम उम्मेदवारको सूचिबाट हटाइयो । उम्मेदवारको सूचिबाट आफ्नो नाम हटाएपछि त्यति नै बेला एमाले पार्टी छाडेर राप्रपा नेपालतिर लागे । राप्रपामा पनि अवसर नभेटाएपछि अभिनेता केसी निश्क्रिय छन् ।

नयाँ शक्ति पार्टीका अभियन्ता

अशोक शर्मा एउटा कुशल निर्माता निर्देशक हुन् भन्दा फरक पर्दैन । राजनीतिमा कहिल्यै नदेखिएका कलाकार शर्मा पनि भट्टराईको नयाँ शक्तिको अभियन्ता बनेर राजनीतिमा झुल्किए । नयाँ शक्तिका अभिन्यता शर्मा पनि पार्टीका केन्द्रीय परिषद् सदस्य हुन् । तर शर्मा पनि पार्टी निर्माण अभियानमा सक्रिय भए पनि पार्टी घोषणासभासम्म आइपुग्दा हराइसकेका थिए । तर पनि उनी नयाँ शक्तिको केन्द्रीय परिषद् सदस्य नै रहेको नयाँ शक्तिले जनाएको छ ।

कलाकारबाट सञ्चारकर्मी हुँदै राजनीतिमा

कलाकारको क्षेत्रमा अर्को एउटा स्थपित नाम हो, कोमल वली । लोक गायिका वली सञ्चारकर्मी पनि हुन् । रेडियो नेपालकी समाचार वाचिका कोमल मौसमी तीज गीतबाट पनि चर्चामा आउने गर्छिन् ।

‘पोइला जान पाम’ देखि कहिले ‘पोइ चाहियो भनेर गीत गाउने भनेर अन्तिम चोटी हो’ भन्ने तीज गीत गाएर चर्चा बटुलेकी उनी अविाहित हुन् । रेडियो नेपालमा समाचार वाचन गर्दा उनी जति कोमल हुन्छिन तर लोकगीत गाउँदा भने बढि छिल्लिन्छिन् ।

कोमल दुई राप्रपा एकता घोषणासभामा कमल थापको हातबाट माला लगाएर औपचारिक रुपमा राजनीतिक यात्रा शुरु गरेकी छिन् । कलाकार, सञ्चारकर्मी हुँदै राप्रपाबाट राजनीतिक यात्रा शुरु गरेकी कोमल यतिबेला अन्य कलाकारहरुलाई राप्रपामा भित्र्याउने अभियानमा छिन् ।

प्रचण्डसँगको डान्सदेखि सागरसँगको भाइटीका

रेखा थापा पनि नेपाली सिने क्षेत्रकी स्थापित कलाकार हुन् । नायिकादेखि निर्माता भइसकेकी रेखा थापा माओवादी अध्यक्ष प्रचण्डसँगसँग कुम हल्लाएर नाँचेदेखि तत्कालिन वाईसीएल नेता सागर थापासँग भाइटीका लगाएर राजनीतिक क्षेत्रम चर्चा बटुलेकी थिइन् ।

सिने क्षेत्रै आफ्ना भूपू पति छबि ओझादेखि सुदर्शन गौतमसँगको प्रेम प्रशंगबाट पनि चर्चामा आएकी रेखा छोटो कपडा लगाएरै नेपाली सिने क्षेत्रमा चर्चा बटुलेकी थिइन् । चर्चामा आउन अनेक फण्डा मच्चाउन खप्पिस रेखा सोमवार मात्र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिन् ।

चर्चा र विवादबाट सायद रेखा कहिल्यै पनि टाढा रहन सक्दिनन भन्ने फिल्मी क्षेत्रमा चर्चा पनि हुने गर्छ । दोस्रो संविधानसभा चुनावअघि माओवादीमा प्रवेश गरेसंगै उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुम जोडेर नाचेपछि राजनीतिमा उनको चर्चा चलेको थियो ।

उनी ०७० जेठ ४ गते भद्रकालीमा आयोजित कार्यक्रममा एमालेबाट आएकी उर्मिला अर्यालसँगै रेखा माओवादी प्रवेश गरेकी थिइन् । तर सोमवार राप्रपा प्रवेश गर्दै गर्दा आफू यसअघि कुनै पार्टीको सदस्य नभएको दाबी गरिन् । त्यतिमात्र होइन, रेखाको मतदाता नामावलीमै नाम भएको कारण प्रचण्ड नेतृत्वको तत्कालिन एमाओवादीले उम्मेदवारको नामावलीबाट हटाएको थियो ।

एउटै पार्टीमा नटिक्नुका कारण

कलाकारहरु प्राय एउटै पार्टीमा टिक्नै सक्दैनन् । बाहिर जे जे भनेपनि कुनै न कुनै फाइदा लिनलाई नै राजनीतिमा लाग्छन् । अझ बिशेषतः चलचित्र विकास बोर्डमा जान पनि कतिपय पार्टीमा लाग्ने गरेको बताइन्छ ।

कलाकार पार्टीमा लागेर केहि समय नवित्दै अर्को पार्टीमा प्रवेश गर्नुले पनि बुझिन्छ कि उनीहरुले त्यहाँ केहि फाइदा लिन सकेनन् या पाएनन् । केही कलाकारहरु पार्टीमा लागेका कारण चलचित्र क्षेत्रमा राजनीतिक नियुक्ति पाएका कारण पनि कलाकारहरुको आकर्षण राजनीतितिर भएको देखिन्छ ।

कलाकारिता क्षेत्रमा नाम भए पनि दाम नभएको कारण उनीहरु आफू सेलिब्रिटी भएकैले टिकट पाएमा सांसददेखि मन्त्री हुने महत्वाकांक्षा पनि कालाकारहरुमा हुने गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.