Ultimate magazine theme for WordPress.

मोर्चाद्वारा आन्दोलन घोषणा, पुस १८ गते देशभर प्रदर्शन गर्ने निर्णय

48

काठमाडौं, पुष १५ :संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी सरकार स्थानीय निर्वाचनको तयारी जुटेपछि आन्दोलन घोषणा गरेको छ । मोर्चाले पुस १८ गते  दिउँसो १ बजे देशभरका जिल्ला सदरमुकाममा आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम लगायतले खबरदारी स्वरुप विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा बसेको दुई दिनको बैठकपछि शुक्रबार निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मोर्चाले संविधान संशोधन पारित नभएसम्म कुनै पनि तह वा निकायको चुनाव हुन नदिने चेतावनी दिएको छ ।

संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्नका लागि जनदबाब सिर्जना गर्ने उद्देश्यले आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको मोर्चाले जनाएको छ । एमालेले संसदमा गरिरहेको अवरोध अलोकतान्त्रिक र संसदीय अभ्यासविपरीत भएको मोर्चाले ठहर गरेको छ ।

संशोधन विधेयक संसदबाट पास नभए चुनाव गर्न नदिने निर्णय गरेको मोर्चाले चुनावको मिति घोषणा गर्नु अघि नै संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने सर्त अघि सारेको छ ।

नेकपा एमालेसहितका विपक्षी दलहरुको अवरोधका कारण संसदमा पेश भइसकेको संशोधन प्रस्तावमा छलफल हुन नसकेपछि मोर्चा आक्रोशित बनेको छ । गत मंसिर १६ गतेदेखि एमालेले लगातार संसद अवरुद्ध गर्दा संशोधन प्रस्ताव, निर्वाचन कानुन सम्बन्धी विधेयक र अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्धको महाअभियोग प्रस्तावमा छलफल हुन सकेको छैन ।

मोर्चाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण संविधान संशोधन प्रस्ताव अलपत्र परेको र राजनीतिक गतिरोध लम्बिएको निष्कर्ष निकाल्दै त्यसको विरोध गरेको छ ।

यसैगरी, राज्य पुनसंरचना आयोगको प्रतिवेदन पनि स्वीकार नगर्ने मोर्चाले निर्णय गरेको छ । आयोगको प्रतिवेदन संविधानको भाबना विपरित र कार्यक्षेत्राधिकार भन्दा बाहिरबाट तयार पारिएकाले स्वीकार नगर्ने मोर्चाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.