Ultimate magazine theme for WordPress.

बन्द फिर्ता लिन नेताहरुले गरे स्थानीयबासीलाई अनुरोध

57

खोटाङ, पुस २८  : स्थानीय तह पुनःसंरचना आयोगले प्रस्ताव नै नगरिएको गाउँपालिका बनाउन सिफारिस गरेको भन्दै आन्दोलनमा रहेका खोटाङका सङ्घर्ष समितिलाई सडक बन्द नगर्न राजनीतिक दलले आग्रह गरेका छन्। महुरेगढीको सट्टामा लामीडाँडा गाउँपालिका बनाइएको भन्दै विरोधमा अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका बुइपा, राजापानी, विजयखर्क, नुनथला लगायतका स्थानीयवासीलाई जिल्लास्थित सात राजनीतिक दलले आन्दोलन खुकुलो पार्न आग्रह गरेका हुन्।

गत शनिबारदेखिको अनिश्चितकालीन सडक हडतालले सर्वसाधारणले यात्रा तथा जनजीवन कष्टपूर्ण भएको भन्दै नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (माले), खम्बुवान् राष्ट्रिय मोर्चा र नयाँ शक्तिले आन्दोलनको विकल्प खोज्न बन्दकर्तालाई आग्रह गरेका छन्।

जिल्लास्थित दलले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै सडक बन्दका कारण कष्टपूर्ण बन्दै गएको जनजीवनलाई सहज बनाउने वातावरण सिर्जना गर्न प्रशासनको ध्यानाकर्षणसमेत गराएका छन्।

यातायात व्यवसायीको ध्यानाकर्षण
सडक बन्दका कारण यात्रु मारमा परेको भन्दै खोटाङका यातायात व्यवसायीले पनि समस्याको समाधानका लागि प्रशासनसमक्ष आग्रह गरेका छन्। जारी सडक बन्दका कारण हजारौँ यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य भएको भन्दै सङ्घले बुधबार स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै तत्काल सडक खुलाउने वातावरण मिलाउन आग्रह गरेका हुन्।

निर्बाधरुपमा सडक सञ्चालन गर्ने वातावरण नबनाए आफैंले अनिश्चितकालका लागि सडक बन्द गर्ने यातायात व्यवसायीले चेतावनीसमेत दिएका छन्। बन्दका बाबजुद बिहीबार सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको यातायात व्यवसायी सङ्घ खोटाङका महासचिव राजकुमार राईले बताए।

आदिवासी जनजातिको पनि विरोध
खोटाङको गाउँपालिकाको सूचीमा सिफारिस नै नभएको नाम आएको भन्दै आदिवासी जनजाति महासङ्घलगायत जातीय सङ्गठनले पनि विरोध जनाएका छन्। आदिवासी जनजाति महासङ्घ, किरात राई यायोक्खा, नेपाल तामाङ घेदुङ, किरात राई चाम्लिङ खाम्बातिमले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै सबैको मनोभावना समेटेर स्थानीय तहको पुनः संरचना गर्न माग गरेका छन्। रासस

Leave A Reply

Your email address will not be published.