Ultimate magazine theme for WordPress.

नियमविपरीत स्कुल पढाउँछन् प्रहरी

43

काठमाडौं । मधेस प्रदेशकोे गरुडा रौतहटस्थित आफैँले खोलेको नेपाल पुलिस स्कुलमा नियमविपरीत पढाउँदै आएका छन् प्रहरी कर्मचारीहरू। प्रहरीमा जागिर खाँदाखाँदै प्रहरी कर्मचारीले पढाउन नपाउने प्रहरी नियमावलीमा उल्लेख छ।
तर, नेपाल पुलिस स्कुल रौतहटको हकमा भने ११ जना प्रहरी कर्मचारीले नियमविपरीत पढाउँदै आएका पाइएको हो। प्रहरीको जागिर खाएपछि अन्य पेसा, व्यवसाय गर्न मिल्दैन । प्रहरीको जागिर खाँदाखाँदै पढाउने पनि अर्को पेसा हो।
आवश्यकताभन्दा तेब्बर प्रहरी कार्यरत रहेको प्रहरी स्कुलमा हाल प्रहरी सहायक निरीक्षक राजकिशोर साह, प्रहरी हवल्दारहरू बलिराम गुप्ता, शङ्कर यादव, विजयशङ्कर यादव, प्रहरी जवानहरू राकेश यादव, मुना ठाकुर, सुबोध साह कानुलगायतले पढाउँदै आइरहेका छन् ।
प्रहरी नियमावलीमा प्रस्ट उल्लेख छ– अर्को पेसा वा व्यवसाय गर्न मिल्दैन। तर, यस स्कुलमा प्रहरी शिक्षकका रूपमा उनीहरू कार्यरत छन् । यसरी प्रहरी नै शिक्षकको रूपमा कार्यरत रहेपछि त्यहाँका कमान्डरमाथि नैतिक सङ्कट उब्जिएको छ।
मधेस प्रदेशको गरुडा, रौतहटमा रहेको नेपाल पुलिस स्कुलका कमान्डर छन् प्रहरी निरीक्षक लोकेन्द्र जीसी। इन्स्पेक्टर जीसीको कमान्डमा ४० जनाभन्दा बढी प्रहरी कर्मचारी सो स्कुलमा खटिन्छन्। त्यति मात्र होइन, लामो समयदेखि स्कुलमा राज गरेर बसेका समेत छन् उनीहरू ।
नेपाल प्रहरीको स्कुल विनियामवलीमै २ वर्षसम्म १ जना शिक्षकले पढाउन पाउनेछन्। तर, विनियमावली नै मिचेर यस स्कुलमा उनीहरूले लामो समयदेखि पढाउँदै आएका छन् ।
यहाँ पढाउँदै आएका ११ जना नै लामो समयदेखि त्यहाँ कार्यरत रहेका नेपाल प्रहरीका एक सिनियर अधिकृतले जानकारी दिए। उक्त स्कुलमा प्रायः यादव थरका प्रहरी शिक्षक छन् ।
स्कुलको विधानविपरीत यहाँ १५ वर्षदेखि जामुनप्रसाद यादव सहायक प्राचार्यको पदमा बसेका र यादवले आफ्नी श्रीमतीलाई समेत स्कुलमा प्रा.वि. तहको नियुक्ति दिलाएका स्रोतको भनाइ छ। १५ वर्षदेखि सहायक प्राचार्यको पदमा बसेर माविमा पढाउने अन्य शिक्षकलाई हेपेर यादवले स्कुलमा राज गरिरहँदा पनि कमान्डर रहेका जीसी मौन रहेका गुनासो प्रहरीभित्रै छ।
त्यस्तै, प्रा.वि. तहमा पढाउने शिक्षक कामेश्वर चौधरीलाई नि.मा.वि. तहको को–अर्डिनेटरको समेत जिम्मेवारी दिइएको स्रोत बताउँछ । यता, हवल्दार शङ्कर यादव १४ वर्षदेख उक्त स्कुलमा कार्यरत छन् । यादव जागादाता रतन गुप्तासँग मिलेर व्यपारमा समेत लागेका छन् ।
प्रहरीमा नियम छ– कुनै पनि प्रहरी ३–४ वर्ष मात्र कुनै जिल्ला वा ठाउँमा बस्न पाउँछ । तर, यस स्कुलमा सिपाहीदेखि प्रहरी सहायक निरीक्षक हुँदा पनि त्यही स्कुलमा नै किन ? प्रहरी हवल्दार बलिराम गुप्ताले यस स्कुलमा पढाउँदै अन्य व्यवसाय पनि गर्छन्। उनको रौतहटमा कपडाको ठूलो होलसेल पसल छ।
सेटिङ मिलाएर उनी लामो समयदेखि रौतहटमा बस्दै आएका स्रोतको दाबी छ। त्यस्तै, मुना ठाकुरको पनि घर रौतहट हो। उनी पनि आफ्नो जिल्लाबाट अन्यत्र जान चाहँदैनन्।
त्यसैले घरमै आउजाउ गर्दै उनले पनि उक्त स्कुलमा अध्यापन गर्न पाइरहेका छन्। प्रहरी शिक्षकको रूपमा कार्यरत विजयशङ्कर यादवको घर बारा कोहल्वी भए पनि उनी रौतहटको गरुडामा डेरा गरी बस्छन्।
यहाँ पढाउँदै आएका जति पनि प्रहरी कर्मचारीले नेपाली कांग्रेसका नेता कृष्ण यादवको चाकरी गर्ने गरेको स्रोत बताउँछ।अहिले प्रहरीमा उर्दी जारी भएको छ– जसको जहाँ दरबन्दी छ, त्यहाँ गइहाल्नू । तर, प्रहरी प्रधान कार्यालयको उर्दीलाई समेत उनीहरूले अटेर गरेका हुन् ।
दरबन्दी एक ठाउँमा भएर पनि उनीहरूले काजमा त्यहाँ बसेर राज गरिरहेका स्रोतको दाबी छ। त्यति मात्र होइन, स्कुलमा नगरपालिका र गाउँपालिकाबाट निःशुल्क आएको औषधिमा नक्कली बिल बनाएर रकम हिनामिना गरेको सहायक प्राचार्य यादवमाथि आरोप छ ।
यादवकै मिलेमतोमा २०५८ सालदेखि डाक्टरको काम गरेका एक जना कर्मचारीलाई समेत हटाइएको छ। अहिले मेडिकलमा २ जना प्रहरी कार्यरत छन् । यस्तै, अशोक यादवले मुख्यमन्त्रीको आडमा सहायक प्राचार्यको पद हडपिरहेका छन्।
‘पढाउन पाइन्थ्योे, अहिले थाहा भएन’
यस विषयमा बुझ्नका लागि प्रहरीका केन्द्रीय प्रवक्ता एवं नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले प्रहरी कर्मचारीले नै पढाउन पाउने÷नपाउनेबारे थाहा नभएको बताए ।
‘पहिलापहिला पुलिस साइन्स किताब हुन्थ्यो। त्यस्तो अवस्थामा प्रहरी कर्मचारीले पढाउने गर्थे’, प्रवक्ता राईले भने, ‘अहिलेको नियम कस्तो छ, म त्यसबारे जानकार छैन।’ उक्त स्कुलमा त्यस्तो रहेछ भने तत्काल अनुसन्धान हुने राईको भनाइ छ।
नेपाल प्रहरीका सातै प्रदेशमा नेपाल पुलिस स्कुल छन्। प्रहरी अधिकृत तथा जवान र सर्वसाधरणका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ नेपाल पुलिस स्कुल खोलिएको हो ।
प्रदेश १ को धरान (सुनसरी), मधेस प्रदेशको गरुडा (रौतहट), बाग्मती प्रदेशको (भरतपुर) चितवन, गण्डकी प्रदेशको बेलचौतारा (तनहुँ), लुम्बिनी प्रदेशको घोराही (दाङ), कर्णाली प्रदेशको (छिन्चु) सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढी (कैलाली)मा प्रहरी स्कुल छन् ।
सबै प्रदेशमा माध्यमिक तहसम्म पढाइ हुने गरेको छ। प्रहरी प्रधान कार्यालयले ७ वटै प्रदेश प्रहरी स्कुलका लागि इन्स्पेक्टरको कमान्डमा प्रहरी कर्मचारी खटाउँदै आएको छ। इन्स्पेक्टर स्कुलको समादेशक हुन्छन् ।
यता, सबै प्रदेशमा स्कुल भएसँगै विद्यार्थीले गुणस्तरीय शिक्षा पाइरहेका प्रधान कार्यालयको दाबी छ। तर, पढाउने शिक्षकहरूको लडाइँले विद्यार्थीहरू मारमा परेका बताइएको छ । सभार/ द नेपाल टप

Leave A Reply

Your email address will not be published.