पर्सा, २३ भाद्र / शान्ति सुरक्षाका साथै तस्करी धन्दालाई निराकरणमा अहम भुमिका निर्वाह गरेको संगठनको रुपमा सशस्त्र प्रहरीलाई मानिएपनि सशस्त्र प्रहरीकै केहि कर्मचारीहरुका कारण दिनानुदिन संगठन माथि औला उठ्ने गरेको पाइन्छ । नेपाल र भारतको सीमा नाका अवस्थित सशस्त्र प्रहरीका केहि उच्च अधिकारीहरुका कारण पवित्र संगठनको रुपमा मानिने सशस्त्र प्रहरी बल नेपाल माथि औला उठ्ने गरिएको केहि घटनाहरुले प्रष्ट पारेको हो ।
तस्करहरुको संजाल अर्थात तस्करहरुको जमघट हुने ठाउको रुपमा हाल पर्सा जिल्लाको अलौ नाकालाई मानिन थालिएको छ । मधेस प्रदेश मात्र नभई मुलुककै आर्थिक नगरीको रुपमा मानिने वीरगंजको अलौ नाका हालको समयमा तस्करहरुकै कब्जामा परेको अभाष हुन थालिएको स्थानीयहरु बताउछन । दिनरात तस्करहरुको सम्राज्यले अलौ नाकाबाट व्यापक तस्करी गर्न तल्लीन रहेको, उनले बताए ।
तस्करहरुको समुहले स्थानीय बोर्डर आउट पोष्ट अलौका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी लगायत ड्युटीमा खटिएका प्रहरीहरुलाई समेत आर्थिक प्रलोभनमा पारेकै कारण तस्करी रुक्न नसकेको आरोप स्थानीयको रहेको छ । घरायसी समाग्री खरिद गरी ल्याउदा सशस्त्र प्रहरी र नेपाल प्रहरीले व्यापक रुपमै चेकजाच गरी कडा रहेको बारे दर्साउन खोजिएपनि रातिको समयमा तस्करहरुको लस्करै लाग्ने गरेको, उनले आरोप लगाए ।
तस्करहरुका लागि अवैध तरिकाले नेपाल भित्रयाउने समाग्रीहरु छुट झै हुने गरेतापनि सर्वसधारणहरुका लागि कडाई देखाईने प्रयास भएको उनले बताए । उनका अनुसार अलौ नाकाबाट प्याज खुल्ला रुपमै अवैध तरिकाले नेपाल भित्रयाइने गरेका छन । तस्करहरुले तस्करहरुको लस्करै लगाएर ३० मिनेट भित्र ट्रक नै लोडिङ गराउने गरेको उनको दावी छ । अलौ नाकाको कोनिया, बारवाबाट ठुलै मात्रामा कपडाको लाइन समेत खुलेको उनले जानकारी गराए ।
पर्सा जिल्लाकै नामुद तस्कर अर्थात स्थानीयदेखि केन्द्रसम्म मिलाउन सक्ने तस्करले कपडाको लाइन पाएको खुलेको छ । जिल्लादेखि सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनी प्रमुखसम्म आफु चोखो रहेको संज्ञा दिएपनि अलौ नाकाको तस्करीले उनको इमान्दारीता माथि नै प्रश्ण चिन्ह खडा गरेको छ । एक उच्च श्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल संगठनका उच्च अधिकारीले नै पर्सामा आएर सेन्डिकेट मिलाएर फर्किएको दावी गरेका छन ।