मोडेल पुजन राना बनिन् हङकङ सरकारको ‘ब्रान्ड एम्बेसडर’

हङकङ सरकारको श्रम बिभागले अल्पसंख्यक समुदायका निम्ति खुला गरेको रोजगार विज्ञापनमा पुजन रानालाई मोडलिङ गराएको छ। हङकङमा हुने मोडलिङ प्रतिस्पर्धा र फेशन शोहरुमा सक्रिय २१ वर्षीय पुजन राना हङकङ सरकारको श्रम बिभागमा अल्पसंख्यक समुदायका निम्ति ‘ब्रान्ड एम्बेसडर‘ पदमा ५ महिना अघि छनौट भएकी थिइन।

‘ब्रान्ड एम्बेसडर’ का रुपमा श्रम विभागमा काम गर्ने उनी पहिलो नेपाली हुन्। आफु ६ महिनाका लागि अनुबन्धित भएको पुजनले बताइन्।

श्रम बिभागले बेरोजगारहरुलाई रोजगारी खोज्न बिभिन्न स्थानमा बनाएको १३ ओटा जव सेन्टरहरुमा पुजन जस्ता ब्रान्ड ऐम्बेसडरले रोजगारी खोज्न सहयोग गर्छन्। पुजनलाई मोडलिङ गराइएको पोस्टरमा पनि त्यहि पदका निम्ति नोकरी आब्हान गरिएको छ। पुजनलाई ६ महिनाको लागि छनौट गरिएको थियो भने यसपालि यस्ता एम्बेसडरहरुको समयावधि बढाएर १ वर्ष बनाइएको छ।

 

 

श्रम बिभागले आफ्नो वेवसाईट र १३ ओटा जव सेन्टरहरुमा हङकङको श्रम बजारमा आवश्यक बेरोजगार जनशक्तिलाई उनीहरुको योग्यता अनुसार भर्ना गरिदिन मध्यस्थता गरिदिन्छ। यस्ता सेन्टरमा अल्पसंख्यकहरुका निम्ति पुजन जस्ता ति समुदायकै कामदारलाई ‘एम्बेसडर’ को रुपमा भर्ना गरिन्छ।

पुजनको अनुभवमा हङकङका यस्ता जव सेन्टरहरुमा नेपालीहरु अत्यन्त कम पुग्ने गरेका छन्। भाषिक कारणले यस्तो भएको हुन सक्ने उनको अनुमान छ। किनकी क्यान्टोनिज जान्ने पाकिस्तानी र भारतीयहरु यी जव सेन्टरहरुमा खुब धाउने गरेको उनले देखेकी छिन्।

नेपालमा कलेजको पढाई सकेर हङकङ छिरेकी पुजनले आएको २ सातामै रेष्टुरेन्टमा काम गर्न थालिन्, जहाँबाट उनले मासिक ९ हजार थाप्थिन। ‘जीवनमा पहिलो पटक यत्रो पैसा कमाएपछि काममै मेरो रस बस्यो’, चिनियाँ भाषा किन नसिकेको भन्ने प्रश्नमा उनी भन्छिन, ‘पछि यसरी हुँदैन, थप केहि गर्नुपर्छ भनेर स्पा थेरापिष्ट कोर्स गरेँ, मोडलिङमा लागेँ अनि फेरि यो मोडलिङको काममा छिरेँ। अहिले बल्ल भाषाको महत्वबारे ज्ञान आयो।’

मोडलिङमा रुचि राख्ने पुजनले हङकङमा सौन्दर्य प्रतियोगिता मीस मगर–२०१४ मा भाग लिएर फस्ट रनरअपको उपाधि जितिन्। सेन्स अफ क्लिकले आयोजना गरेको हन्ट फर सुपर मोडेल कन्टेस्ट–२०१५ को फस्ट रनरअप उनी अब मोडलिङ क्षेत्रमै लाग्ने बताउँछिन्।

ग्यालेक्सी स्कुल काठमाडौँबाट एसएलसी गरि मोर्गन कलेजबाट प्लस टु सकेर २०१३ मा हङकङ छिरेकी पुजनलाई चिनियाँ भाषा आउँदैन। मोडलिङको काममा लागेपछि उनलाई के थाहा भयो भने हङकङमा भाषा नजानेकै कारण अवसरबाट बन्चित हुनुपर्ने रहेछ।

‘भाषा भएको भए मलाई सजिलो हुन्थ्यो। काम गर्ने ठाउँमा सबै चिनियाँ छन्, उनीहरुसँग बोल्न भएपनि भाषा त जान्नै पर्दोरहेछ’, कर्मक्षेत्रमा भोगेको कठिनाइबारे उनी भन्छिन्, ‘भाषा जान्ने हो भने आफुले चाहेको विषयमा काम पाइँदोरहेछ भन्ने अहिले थाहा पाएँ, त्यसैले अहिले क्यान्टोनिज बोल्न सिकिरहेकी छु।’

Comments (0)
Add Comment