Ultimate magazine theme for WordPress.

संसद बैठक अघि नै हुने भो निर्वाचन घोषणा

60

काठमाडौं, २९ माघ । व्यवस्थापिका–संसद्को अबको बैठक बस्नुअघि नै स्थानीय निर्वाचनको मिति घोषणा गरिने भएको छ । ब्यवथापिका संसदको बैठक आगामी फागुन १० गते बस्दैछ । संसदको बैठक बस्नुभन्दा २ दिनअघि नै सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने भएको हो ।

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा दलहरुबीच भने अझै सहमति जुटेको छैन । पुनर्संरचना प्रतिवेदनको अध्ययन गर्ने जिम्मा पाएको संघीय मामिला तथा स्थानी विकास मन्त्री हितराज पाण्डे संयोजकत्वको समितिले प्रतिवेदनबारे कुनै निक्र्योल निकाल्न सकेको छैन ।

संविधान संशोधन विधेयकको पनि अझै टुंगो नलागेका कारण मधेसवादी दलहरुले निर्वाचन अस्वीकार गर्ने बताइरहेका छन् । मोर्चाका नेताहरुले जबजस्ती निर्वाचन घोषणा गरिए मधेसमा निर्वाचन हुन नदिने चेतावनी नै दिइरहेका छन् । तर सत्ता साझेदार दलहरुकै दबाबका कारण प्रधानमन्त्री प्रचण्डले निर्वाचन मिति घोषणा गर्ने सुर कसेका हुन् ।

तत्कालन निर्वाचन मिति घोषणा गर्न दबाब दिए पनि मोर्चासँग सहमति जुटाउनकै लागि सरकारले ‘आगामी जेठमा निर्वाचन गर्ने गरी तयारी थाल्नु’ भनी निर्वाचन आयोगलाई पत्र पठाएको थियो ।

निर्वाचनका लागि विधेयकहरु समेत पारित भइसकेको भन्दै विपक्षी दलहरुले निर्वाचन मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहँदा आगामी संसद बैठक अघि नै निर्वाचन मिति घोषणा गर्ने प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच समझदारी भएको छ ।

हरिसिद्धिस्थिति माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको निवासमा शुक्रबार ओलीसँग भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले फागुन ८ गते स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए ।

स्थानीय तह पुनःसंरचना प्रतिवेदनमाथिको सुझाव ८ गते निर्वाचन आयोगलाई बुझाइने र बुझाएलगत्तै प्रधानमन्त्रीले निर्वाचन मिति घोषणा गर्ने जानकारी ओलीलाई लगाएको नेता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री प्रचण्ड शनिबार मधेस भ्रमणमा निस्कन लागेको र मधेसबाट फर्किएपछि स्थानीय निर्वाचन र संविधान संशोधनबारे प्याकेजमा नै प्रमुख दलबीच सहमति जुटाउन पहल गर्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.