Ultimate magazine theme for WordPress.

संविधान संशोधन विधेयकसम्बन्धी प्रक्रिया अघि बढ्दै

52
काठमाडौं, फागुन ११ : सरकारले ब्यवस्थापिका संसदमा आजबाट संविधान संशोधन विधेयकसम्बन्धी प्रक्रिया अगाडि बढाउदैछ । एमालेसहितका ९ दल र केही सत्तारुढ दलले नै विधेयकमाथिको बिरोध कायमै राखेपनि सरकार मधेशी मोर्चालाई मनाउने उद्धेश्यसहित विधेयक अगाडि बढाउने निश्कर्षमा पुगेको हो ।
विधेयकलाई कार्यसूचीमा राख्ने नराख्ने बिषयमा दलहरुबीच सहमति हुन नसकेपछि १६ दिनपछि हिजोका लागि बोलाईएको संसद बैठक सूचना टाँसेर आज २ बजेसम्मका लागि स्थगित गरिएको थियो । एमाले उपमहासचिव बिष्णु पौडेलले विधेयकबारे संसदले गर्ने निर्णय आत्मसाथ गर्न मोर्चा तयार भए प्रक्रियामा लैजान दिनेबारे एमालेले पुनर्बिचार गर्ने बताउनुभयो ।
रेडियो कान्तिपुरसँग आज बिहान कुरा गर्दै पौडेलले असफल हुने संकेतकाबीच विधेयक अगाडि बढाउने सरकारको निर्णय आपत्तिजनक भएको उल्लेख गर्नुभयो । विधेयकसम्बन्धी प्रक्रिया संसदमा अगाडि बढाए मधेशी मोर्चा समेत निर्वाचनमा सहभागी हुने आंकलन सरकारको छ । विधेयक पारितका लागि संसदमा कायम सदस्य संख्याको दुई तिहाई अर्थात ३ सय ९६ मत आवश्यक पर्ने छ ।
दलीय गठबन्धनका आधारमा आवश्यक मत संख्या नपुग्ने भएपनि सरकारले भने विधेयक अगाडि बढाउने भएको हो । बिपक्षी मोर्चा रणनीति बनाउँदै यसैबीच ९ दलीय प्रतिपक्षी मोर्चाको बैठक आज बस्दैछ । सरकारले संविधान संशोधन विधेयक आजबाट प्रक्रियामा लैजाने बताएपछि थप धारणा बनाउन एमाले सहितको प्रतिपक्षी मोर्चाको बैठक बस्न लागेको हो ।
राजधानीको नयाँबानेश्वरस्थित संसद भवन परिषरमा दिउँसो साढे १२ बजेपछि बस्ने बैठकमा विधेयकको बिरोधमा संसदमा जारी आन्दोलनको आगामी कार्यक्रम तय गर्ने छ । विधेयकबारे संसदले गर्ने निर्णय स्विकार गर्ने प्रतिबद्धता मधेशी मोर्चाबाट आए आन्दोलनका कार्यक्रममा पुनर्बिचार गर्न सकिने रणनीतिमा बिपक्षी मोर्चा छ ।
रेडियो कान्तिपुरसँग कुरा गर्दै नेकपा मालेका महासचिव सीपी मैनालीले प्रक्रिया अवरुद्ध गर्ने सोचमा मोर्चा नभएपनि मतदान प्रक्रियामा भने सहभागी नहुने स्पष्ट पार्नुभयो । सीमांकन हेरफेर गर्ने प्रावधानसहितको सो विधेयकबारे सर्वोच्च अदालतले समेत स्पष्ट पारेकाले अगाडि बढाउने सरकारको तयारी नै असंवैधानिक भएको बिपक्षी मोर्चाको बुझाई छ ।
सत्तारुढ दल राप्रपा समेत विधेयकको बिपक्षमा रहेकाले २ सय भन्दा बढी सांसद रहेको ९ दलीय बिपक्षी मोर्चा विधेयक असफल हुनेमा ढुक्क देखिएको छ ।

Leave A Reply

Your email address will not be published.