Ultimate magazine theme for WordPress.

मधेशी मोर्चाको भडाफोर अभियान चलाउने निर्णय

87

वीरगन्ज, फागुन १२ : संविधान संशोधन नगरी सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको बिरोधमा मधेशी मोर्चा, पर्साको बिहीवारको बैठकले सप्ताहब्यापी बिरोध कार्यक्रम निर्धारण गरेको छ ।

तराई मधेश सद्भावना पार्टीका पर्सा अध्यक्ष विरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले फागुन १४ अर्थात आउदो शनिवारदेखी त्यसपछिको शुक्रवारसम्मको लागि कार्यक्रम सार्वजनिक गरेको संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले बताए । मोर्चाले तय गरे अनुसार १४ गते मिलन चौक, १५ गते पोखरिया, १६ गते गर्दवल, १७ गते जानकी टोला, १८ गते श्रीपुर पचगाँवा, १९ गते डोकैला बहुअरी र २० गते मानवा बजारमा भण्डाफोर कार्यक्रम हुने भएको छ ।

‘भण्डाफोर कार्यक्रममा हामीले मधेशसंग प्रमुख भनिएका दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले कसरी धोखाबाजी गर्दै आएका छन् भन्ने कुरा जनतामाझ राख्ने हो,’ नेता यादवले भने, ‘संबिधान संसोधनको विषय ओझेलमा पारी, मोर्चाको सहमति बिना चुनावको मिति घोषणा गरेर मधेशसंग माओवादी र काँग्रेसले गद्दारी गरेका हुन्, ‘मधेसका सवालमा ति दलहरुले पटक पटक धोका गर्दै आएका छन्, संविधान संशोधन नगरी हुने चुनावको कुनै अर्थ छैन, त्यस कारण हामी आन्दोलनमा गइसक्यौं ।’

बिगतको ३ बुँदे सहमति अनुसार मोर्चाले पुष्पकमल दहाल नेतृत्वको सरकारलाई समर्थन गरेको र सहमति बमोजिम सरकारले ‘परिमार्जन सहितको संबिधान संसोधन विधेयक संसदमा पेश गरेर पारित गराउने र त्यसपछि चुनावमा जाने,’ तय थियो भन्ने कुरा बैठकपछि मोर्चाका नेताहरुले प्रतिक्रिया दिए ।

बैठकमा मोर्चा आबद्ध दलका नेताहरु तराई मधेश लोकतान्त्रिक पार्टीका पुरुषोत्तमलाल झा, सद्भावना पार्टीका अनिरुद्ध सिंह, समाजवादी पार्टीका प्रेमबाबु पटेल, मधेशी जनाधिकार फोरम गणतान्त्रिका मुस्तकिम अन्सारी, नेपाल सद्भावना पार्टीका कृष्णा पटेल, फोरम नेपालका सलाउद्दीन मियाँ, सद्भावना पार्टीका राजेस साह, धर्मेन्द्र पटेल, फोरम नेपालका शिवजीप्रसाद तेली, असलम आलम र कामेश पडित बैठकमा सहभागि थिए ।

Leave A Reply

Your email address will not be published.