Ultimate magazine theme for WordPress.

बाबु विदेशी भएपनि आमाको नामबाट सन्तानलाई नागरिकता दिन सर्वोच्चको फैसला

66

काठमाडौं, चैत्र १७ : सर्वोच्च अदालतले बाबु विदेशी भए पनि वंशजका आधारमा आमाले नेपाली नागरिकता लिएको भए उनीहरूबाट जन्मेका सन्तानलाई अंगीकृत नागरिकता दिन सकिने फैसला गरेको छ । सर्वोच्चको फैसला अनुसार विदेशी नागरिकसँग विवाह गर्ने नेपाली नागरिक महिलाबाट जन्मिएको सन्तानले अंगीकृत नागरिकता पाउने बाटो सहज बनेको छ । तर अंगीकृत लिने सन्तान नेपालमै जन्मेर नेपालमै स्थायी बसोबास गरेको हुनुपर्नेछ ।

बाबुको नागरिकताका आधारमा कुनै सन्तानले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने मात्र त्यस्ता सन्तानलाई अंगीकृत नागरिकता प्रदान गर्न सकिने गरी खुकुलो व्याख्या सर्वोच्चले गरेको छ । विदेशी बाबुबाट नेपालमै जन्म लिए पनि गाविस र जिल्ला प्रशासनले अंगीकृत नागरिकता दिन इन्कार गरेको भन्दै सर्वोच्चमा दायर एक रिटमा न्यायाधीश डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।

फैसलामा उल्लेख छ, ’निवेदकले पेस गरेका कागज प्रमाणका आधारमा यी निवेदकले नेपालको संविधान तथा नागरिकतासम्बन्धी प्रचलित कानुनअनुसार आमाको नामबाट नेपालको अंगीकृत नागरिकता पाउने अवस्था स्पष्ट रूपमा देखिएकाले निजलाई सम्बन्धित गाविसले नागरिकता प्राप्तिका लागि सिफारिस दिनुपर्ने र त्यसका आधारमा जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र दिनुपर्ने नै हुन्छ । नागरिकता दिने कार्य तथा यसको प्रक्रियासँग सम्बन्धित कार्य गर्न इन्कार तथा आलटाल गर्न मिल्दैन ।’

सर्वोच्चले फैसलामा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८ को उपधारा (७) मा ‘यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएको व्यक्तिको हकमा निजको नेपालमा जन्म भई नेपालमा नै स्थायी बसोबास गरेको र बाबुको नागरिकताका आधारमा निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले प्रचलित कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ भन्ने व्यवस्था रहेको’ उल्लेख छ ।

यस्तो व्यवस्था अहिलेको नेपालको संविधानको धारा ११ को उपधारा (७) मा समेत रहेको जनाइएको छ । नागरिकतासम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न बनेको नेपाल नागरिकता ऐन, २०६३ को दफा ३ को उपदफा (१) ले पनि ’कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजका नाताले नेपालको नागरिक हुनेछ’, भन्ने व्यवस्था गरेको व्याख्यासहित सर्वोच्चले अंगीकृतका लागि बाटो खुला गरिदिएको हो ।

सोही ऐनको दफा ५ को उपदफा (२) लेसमेत विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरीको हकमा निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको र बाबुको नागरिकताका आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने निजलाई अंगीकृत नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरेको अवस्थामा अंगीकृतमा बाधक बन्न नमिल्ने निर्णय सर्वोच्चले दिएको छ ।

सर्वोच्चले नागरिकता व्यक्तिको व्यक्तिगत एवं राष्ट्रिय पहिचानसँग जोडिएको अत्यन्त संवेदनशील विषय भएकाले कुनै पनि व्यक्तिलाई नागरिकताविहीनताको स्थितिमा राख्न नमिल्ने भनेको छ ।

Leave A Reply

Your email address will not be published.