Ultimate magazine theme for WordPress.

फोरम नेपाल र नयाँ शक्तिको यस्तो छ काठमाडौं बनाउने आकर्षक योजना

39

काठमाडौं , बैशाख २३ : संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीको तर्फबाट काठमाडौं महानगरका लागि चयन भएका साझा उम्मेदबारहरु अहिले चुनावी चर्चामा छन् । चुनावी सरगर्मी बढ्दै जाँदा फोरम नेपालको तर्फबाट मेयरका उम्मेदबार पवित्र बज्राचार्य र नयाँ शक्तिको तर्फबाट उपमेयरकी प्रत्यासी सविना अर्यालले संयुक्त रुपमा आफ्नो भावी योजना अघि सारेका छन् ।

मतदातालाई आकर्षित गर्न चुनावी योजना त प्रायः सबै दलले सारेका छन्, फोरम नेपाल र नयाँ शक्तिका उम्मेदबारले काठमाडौं महानगरलाई बस्न योग्य शहरको विकास गर्ने गुरुयोजना सार्वजनिक गरेका छन् । फोरम नेपाल र नयाँ शक्तिले हातले समातेको बलिरहेको मशाल चुनाव चिन्ह लिएर चुनावमा होमिएका छन् । मशाल चुनाव चिन्ह फोरम नेपालको हो । तर, नयाँ शक्तिले पनि मशाल चुनाव चिन्ह नै प्रयोग गरेको छ ।

बज्राचार्य र अर्यालको यस्तो छ काठमाडौं योजना
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिको गठवन्धनबाट चुनाव लडेका पवित्र बज्राचार्य र सविना अर्यालले महानगरको विकास र समृद्धिको लागि अघि सारेको योजना अहिले निकै नै चर्चामा छ । दुबैले गैरन्यायीक सडक विस्तारबाट पीडित जनतालाई पुनः स्थापित गर्ने र सडक विस्तार गर्नुपर्ने परिस्थिति सृजना भएमा जनताको घर जग्गा न्यायोचित मुआब्जा सहित वैकल्पिक व्यवस्था गरेरमात्र सडक विस्तार गर्ने बताएका छन् ।
उपत्यकामा धुँवा र धुलोले मानिसको स्वास्थ्यमा गम्भीर असर गरिरहेकोले त्यसको नियन्त्रण गर्ने,सडक बत्ति, खानेपानी ढलनिकासमा विशेष जोड दिइएको छ । राजधानीमा पार्किङको व्यवस्था गर्ने अर्को योजना छ । काठमाडौं जोड्ने तिव्रगतिको बाटोलाई यथाशिघ्र निर्माण सम्पन्न गरी प्रयोगमा ल्याउन पहल गर्ने र मेट्रो रेल, स्काइ ट्रेन र फ्लाई ओभरको निर्माण गर्ने उनीहरूको अवधारणा पत्रमा उल्लेख छ । साथै महानगरभित्रका विभिन्न क्षेत्रलाई शिक्षा स्वास्थ्य, सञ्चार, आवास,प्रशासनिक, कूटनीति, व्यापारिक, पर्यटकीय, सास्कृतिक आदि क्षेत्र तोकी वर्गिकृत गर्ने योजना मेयर बज्रचार्य र उपमेयर अर्यालले अघि सारेका छन् ।

काठमाडौं उपत्यका तथा बनेपा, धुलिखेल, पनौती लगायित नजिकका सहरहरुको सडक, सञ्चार, शिक्षा, स्वास्थ्य, विजुली, खानेपानी,फोहोरमैला व्यवस्थापन, उद्योगधन्दा आदीको एकीकृत विकास गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनीहरूको प्रतिवद्धता छ । महानगरपालिकाभरि सीसीटिभीको सञ्जाल सहित स्मार्ट सुरक्षा नीति अपनाउने र अपराधमुक्त सहरको रुपमा विकास गर्ने योजना रहेको दुबैले बताएका छन् ।

प्रत्येक वडामा जेष्ठ नागरिक मैत्री तथा बाल उद्यान पार्क बिकास गरी फ्री वाइफाई जोनको व्यवस्था गर्ने, महानगरभित्र सरकारी,सार्वजनिक र गुठी जग्गामा व्यापारिक उद्देश्यले भवन निर्माणमा रोक लगाउने गरी कानुन बनाउने र नदी किनारका अव्यवस्थित र अतिक्रमण हटाई नदी किनारबाट बैकल्पिक सडक बनाउने योजना छ ।

को हुन् पवित्र बज्राचार्य ?
काठमाडौं ओमबहालका बज्राचार्य पछिल्ला तीनवटा स्थानीय निकायको चुनावमा काठमाडौं २३ को वडाध्यक्षमा चुनिए । उनले कार्यवाहक मेयर बन्ने मौका पनि पाए । उनी अहिले संघीय समाजवादी फोरम नेपालमा आवद्ध छन् । उनको दलको काठमाडौंमा उपस्थिति औषत मात्रै भए पनि बज्राचार्य स्थानीय स्तरमा परिचित अनुहार हुन् । उनी नेपाल खुद्रा व्यवसायी संघका अध्यक्ष तथा नेवाः गुथिको अध्यक्ष समेत हुन् । दोस्रो संविधानसभा चुनाव ०७० मा उनी तत्कालीन संघीय समाजवादी पार्टीबाटै काठमाडौं ८ मा चुनाव लडेका थिए । उनले २ हजार ४ सय भन्दा बढी मत पाएका थिए ।

Leave A Reply

Your email address will not be published.