Ultimate magazine theme for WordPress.

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको कडा निर्देशन

269

काठमाडौं, ६ श्रावण / प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानुनको कार्यान्वयनमा कदापी नचुक्दै र नझुक्दै उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पूरा गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । नेपाल पुलिस क्लव भृकुटीमण्डपमा सोमबार महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो ।
प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राही समक्ष प्रहरीले उच्च आचरण र व्यवहार सहित प्रस्तुत भएमा प्रहरीप्रति आम नागरिकको दृष्टिकोण सकारात्मक रुपमा परिवर्तन हुने उहाँले बताउनुभयो । साधन स्रोतको उचित प्रयोग गरेर प्रहरीले गर्ने काम कारवाही संचालन गर्न सकेमा आगामी दिनमा संगठनले राम्रो प्रतिफल प्राप्त गर्न सक्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले छिटोछरितो सेवा प्रवाह गर्नेतर्फ सदैव अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी, मजबुद तथा प्रमाणमुखी बनाउनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, ‘अपराध कार्य नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा प्रहरीले समेत समयानुसार आफूलाई परिवर्तन गर्दै पुलिसिङका नयाँ तरिका र पेशा सम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्छ ।’ प्रहरी अधिकृतहरुले समस्याको पहिचान पश्चात् त्यसको समाधानतर्फ अग्रसर भएमा राज्यले अख्तियार गरेको नीति तथा निर्देशनलाई प्रभावकारी ढंगबाट संचालन गर्न सकिने उहाँले बताउनुभयो । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको अवस्थामा प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिकाको उहाँले प्रशंसा गर्दै लकडाउन खुलेपछि हुन सक्ने अपराधजन्य घटनाप्रति प्रहरी कर्मचारी थप चनाखो हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । सो अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षकज्यूबाट प्राप्त निर्देशन सम्बोधन अक्षरस पालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरी कर्मचारीहरु एक्यबद्ध भई अगाडि बढेमा प्रहरीले गर्ने हरेक काम कारवाहीको गन्तव्य निर्धारणका लागि सहजता हुने उल्लेख गर्दै थप व्यवसायिक क्षमता, लगनशीलताकासाथ नयाँ परिस्थिति र चुनौतिको सामना गर्न प्रहरी कर्मचारीहरु तयार रहेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक लगायत उक्त कार्यालय मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.