Ultimate magazine theme for WordPress.

नयाँ शक्ति फुट्दै

58

काठमाडौं, फागुन २० : अन्य राजनीतिक पार्टीहरुले केही गर्न सकेनन् भन्दै वैकल्पिक शक्तिको दावीका साथ स्थापना भएको नयाँ शक्ति नेपालमा ठूलो विद्रोह हुने भएको छ ।

पार्टीको संगठनात्मक र वैचारिक कार्यशैली र पद्धतीसँग असन्तुष्ट भएका देशभरीका नेता तथा कार्यकर्ताहरुले पार्टी छोड्ने तयारी गरेका छन् ।

नयाँ शक्ति समानान्तर पार्टी कमिटिका नामबाट उनीहरुले नयाँ शक्ति छोडेर वैकल्पिक शक्ति निर्माण गर्ने भएका छन् ।

“बाबुरामजीले पार्टीलाई पुरानै कम्युनिष्ट शैलीमा चलाउन खोज्नुभयो, हरेक कुरामा केन्द्रीकरण भयो ।” नयाँ शक्ति नेपालका अन्तरिम परिषद सदस्य चन्द्रदेव ओझाले भने, “अहिले आएर स्थानीय निर्वाचनको समेत बिरोध गर्न थालेपछि हामीले पार्टी छोड्ने निर्णय गरेका हौं ।”

असन्तुष्ट परिषद सदस्यहरुले लोकतन्त्रलाई मजबूत पार्न स्थानीय निकायको चुनाव गर्नुपर्ने धारणा राखेका छन् । “चुनाव भनेको लोकतन्त्रको मुख्य आधार हो, बिभिन्न पक्षका असन्तुष्टि संविधान संशोधनमार्फत हल गर्न सकिन्छ, त्यसका लागि समय पनि छ ।” ओझाले भने, “तर बाबुरामजी चुनाव भाँड्ने र देशलाई अराजकतातर्फ लैजाने योजनामा हिँड्नुभयो । संगठनात्मक कार्यशैलीमा त पहिलादेखि नै हाम्रो असन्तुष्टि थियो, अहिले कार्यदिशा र वैचारिक कुरामा पनि असहमति भयो ।”

असन्तुष्ट अन्तरिम सदस्यहरुले संयोजक बाबुरामसँग यसबारेमा पटकपटक कुरा गरेपनि बाबुरामले सच्चिन नमानेपछि नयाँ पार्टी गठन गर्ने निश्कर्षमा पुगेको ओझाले बताए । ओझासँगै निर्मल भट्टराईलगायतले नयाँ पार्टीभित्रका सबै जिल्ला समितिहरुमा छलफल गरेर समानान्तर पार्टी निर्माण गर्ने अभियान थालेका हुन । उनीहरुले दावी गरे अनुसार, अहिले २० प्रतिशत भन्दा बढी अन्तरिम सदस्यहरु नयाँ पार्टीमा सहभागी हुने छन् ।

नयाँ पार्टीले चुनावका लागि मिल्न सक्ने पक्षहरुसँग वैचारिक छलफल चलाउने तर कुनै पार्टीमा विलय या एकता भने नगर्ने ओझाले बताए ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा ३ सय ७५ जना अन्तरिम परिषद सदस्य रहेका छन् ।

बाबुराम भट्टराईले संविधान संशोधन नगरी चुनाव गर्नु हुँदैन भनेर सघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर प्रेस विज्ञप्ती जारी गरेपछि पछिल्लो विवाद चुलिएको थियो । फोरमसँग पार्टीको विधानविपरित विज्ञप्ती जारी गर्नु, चुनावको आवश्यकता रहेको बेला यादवको बोलीमा बोली मिलाएर बाबुराम हिँड्नु पार्टीको मूल वैचारिक र सांगठिनक लाइन विपरित भएको भन्दै असन्तुष्टहरुले बिरोध गरेका थिए । यसअघि पनि बाबुरामसँग असहमति राख्दै नौ जना केन्द्रीय सदस्यहरु (अन्तरिम परिषद सदस्य)हरुले बाबुरामलाई पत्र बुझाएका थिए ।

पार्टी नेतृत्वले बारम्बार खबरदारी गर्दा पनि स्वेच्छिक ढंगले हिँडन खोजेपछि पार्टी नै छोड्नुको विकल्प नरहेको भन्दै असन्तुष्टहरुले देशैभरी छलफल चलाएरु पार्टी गठन गर्न खोजेको बताएका छन् ।

“हामीले यही २६ गतेभित्र समानान्तर नयाँ शक्ति पार्टीको राष्ट्रिय भेला राजधानीमा आयोजना गर्दैछौं ।” ओझाले भने, “त्यसअघि सबै जिल्लामा छलफल चलाइरहेका छौं । अधिकांश साथीहरु बाबुरामको कार्यशैलीको बिरोधमा छन् । सबैलाई समेटेर वैकल्पिक शक्तिको रुपमा अघि बढ्छौं ।”

Leave A Reply

Your email address will not be published.