Ultimate magazine theme for WordPress.

दुई दर्जन विमानस्थलमा यस कारण जाँदैनन् विमान

86

काठमाण्डौं, माघ ७ : देशभर अहिले ५६ वटा विमानस्थल छन्। तीमध्ये मुस्किलले ३१ वटा मात्र सञ्चालनमा छन्। अरु विमानस्थल किन चल्न सकेनन्? यसको कारण खोलेका छन् नागरिक उड्ड्यन तथा पर्यटन मन्त्री जीवनबहादुर शाहीले।

बिहीबार व्यवस्थापिका संसदको विकास समितिमा उनले विमानस्थलहरु सञ्चालनमा आउन नसक्नुको कारण खोतले। ‘पूर्वाधारमा कमजोरी वा अवतरण गर्न नसक्ने भएर विमानस्थल सञ्चालनमा नआएका होइनन्, जहाज नभएर ती सञ्चालनमा आउन नसकेका हुन्’, उनले भने। उनका अनुसार, सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज नहुँदा तथा निजी विमान कम्पनीहरुको उदासीनताले करिब दुई दर्जन विमानस्थल नियमित सञ्चालनमा आउन सकेको छैन।

व्यवस्थापिका संसदको विकास समितिले संचालनमा नरहेका देशका दूर्गम भेगका विमानस्थललाई प्रयोगमा ल्याउन निर्देशन दिएपछि उनको यो प्रतिक्रिया आएको हो।

उनले सञ्चालनमा नरहेका अधिकांश आन्तरिक विमानस्थललाई फेरि प्रयोगमा ल्याउन सरकारी लगानीको खाँचो रहेको उल्लेख गरे।

दूर्गम तथा कतिपय सुगमकै विमानस्थलमा पनि थोरै यात्रु हुन्छन्। ‘यात्रु पर्याप्त नपाउँदा निजी विमान कम्पनीले उडान भर्न चाहँदैन, निगमसँग पनि पर्याप्त जहाज छैन’, उनले भने, ‘त्यसैले वर्षौंअघि निर्माण भएका धेरै विमानस्थल सञ्चालनमा आउन सकेको छैन।’

उनले भौगोलिक विकटताका कारण सडक सञ्जालले नछोएको र हवाइ यातायातमा मात्र निर्भर देशका विभिन्न ६ स्थानमा सरकारले थप विमानस्थल निर्माण गर्न लागेको समेत उनले बताएका छन्।

नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरुका अनुसार २९ वटा विमानस्थल घाँसे मैदान प्रकृतिका छन्भ। अन्य केहीमा प्राविधिक उपकरण जडान भएपछि मात्र ती विमानस्थललाई सञ्चालनमा ल्याउन सकिने अवस्था छ।

त्यसैले विमानस्थलको भौतिक पूर्वाधारमा सरकारले विशेष ध्यान दिनुपर्ने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने। ‘अहिलेसम्म २५ वटा विमानस्थलमा मात्र कालोपत्र भएको छ,’ उनले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.