Ultimate magazine theme for WordPress.

उपेन्द्र र महन्थबीच दूरी बढ्दै

50

काठमाडौं पौष २१  : मधेसी मोर्चाले संविधान संशोधन विधेयक पास गर्न संसद्मा सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ। मोर्चाको बुधबार बैठकले परिमार्जनसहित संशोधन प्रस्तावका पक्षमा जुट्न अन्य दललाई समेत आग्रह गरेको छ।

बैठकमा मोर्चाका नेताले संशोधन विधेयक पास गराउन अन्य दलसँग पनि छलफल गर्नुपर्ने धारणा राखेका थिए। विधेयक दर्तालगत्तै मोर्चाले त्यसलाई नमान्ने निर्णय गरेको थियो। त्यसपछिका बैठकमा भने मोर्चा लचिलो हुँदै आएको छ। मोर्चाका नेताले भारतीय राजदूत रञ्जित रेसँग संशोधन विधेयकमा छलफल गरेपछि आफूलाई लचिलो देखाउँदै आएका हुन्।

स्रोतका अनुसार बुधबारको बैठकमा मोर्चाका नेताले संशोधन विधेयक पास गराउन सरकारलाई सहयोग गर्नुपर्ने बताएका थिए। संशोधनबाट प्राप्त उपलब्धि कायम राख्दै चुनावमा जानुपर्ने धारणा पनि बैठकमा नेताहरूले राखेका थिए। ‘संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक पास गराउनु नै पर्छ’, बैठकपछि नागरिकसँग कुरा गर्दै नेपाल सद्भावना पार्टी अध्यक्ष अनिल झाले भने, ‘विधेयक पास गराउन दुईतिहाइ सांसद संख्या जुटाउन अन्य दललाई आह्वान गर्ने निर्णय गरेका छौं।’

संशोधन विधेयक अघि बढाउन मोर्चाले  बिहीबार नेपाली कांग्रेस र माओवादी केन्द्रका नेतासँग छलफल गर्नेछ।

मोर्चाको बैठकले सर्वोच्च अदालतले संविधान संशोधन रोक्न माग राखेर परेको रिटमा सुनाएको निर्णयलाई स्वागत गरेको छ। एमालेले गरेको संसद् अवरोध त्रुटिपूर्ण भएको ठहर गर्दै संशोधन विधेयक अघि बढाउन दबाब दिने उसको निर्णय छ। बैठकले दबाबमूलक कार्यक्रम तय गर्न मोर्चाको सचिवालयलाई निर्देशन दिने निर्णय गरेको छ।

‘एमालेबाट भएको संसद् अवरोध त्रुटिपूर्ण छ भनी हामीले भन्दै आएका थियौं जसलाई सर्वोच्च अदालतको निर्णयले पनि पुष्टि गरेको छ’, राष्ट्रिय मधेस सद्भावना पार्टीका महासचिव केशव झाले भने।

तमलोपा अध्यक्ष महन्थ ठाकुरले बैठकमा अजेन्डा राखेका थिए। उनले सर्वोच्च अदालतको फैसलामा प्रतिक्रिया दिन र संशोधन विधेयकबारे पनि खुलेर धारणा राख्न मोर्चाका नेतालाई आग्रह गरेका थिए। बैठकमा बोल्ने अधिकांश नेताले संशोधन विधेयक संसद्मा टेबुल भए मोर्चालाई चुनावमा जान उपयुक्त हुने धारणा राखेका थिए।

बैठकमा तमलोपा अध्यक्ष ठाकुुर, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव, नेपाल सद्भावना पार्टी अध्यक्ष झा, राष्ट्रिय मधेस सद्भावना पार्टी महासचिव झा, सद्भावना पार्टी महासचिव मनीष सुमनलगायत नेता उपस्थित थिए।

उपेन्द्र र महन्थबीच दूरी बढ्दै

बुधबार एकै दिन संघीय गठबन्धनका संयोजक एवं सघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय गठबन्धनको बैठक बोलाए भने तमलोपा अध्यक्ष महन्थ ठाकुरले मोर्चाको बैठक डाके। स्रोतका अनुसार राष्ट्रिय राजनीतिलाई निकास दिने विषयमा यादव र ठाकुरबीच मतभेद बढ्दै गएको छ। मोर्चाका अन्य नेताले ठाकुरलाई साथ दिएका छन्। यादवले मधेसभन्दा पनि जनजातिका मुद्दा बढी उठाउने गरेको आरोप मोर्चाका नेताको छ।

गठबन्धनको बैठकमा प्रदेश सीमांकन फेरबदल गर्ने जिम्मेवारी प्रदेशसभालाई हुने संविधानको धारा २७४ का विषयमा छलफल भएको थियो। यस्तो हो भने त्यो धारा आफूहरूका लागि ‘घातक’ हुने भन्दै खारेज गर्नेतर्फ लाग्नुपर्ने निर्णय बैठकले गरेको छ। गठबन्धनको भन्दा पछि बसेको मोर्चाको बैठकले भने यसबारे कुनै निर्णय गरेन। धारा २७४ का विषयमा मोर्चाको बैठकमा छलफल भए पनि अहिले नै निर्णय गर्नु औचित्य नहुने धारणा नेताले राखेका थिए।

गठबन्धन बैठकको अध्यक्षता यादवले गरेका थिए। मोर्चाको बैठक बस्नुअघि नै उनी पारिवारिक काम देखाएर जनकपुर गए भने महासचिव राम साह यादव  सहभागी भए। गठबन्धन बैठकले संशोधन विधेयक अघि बढाउन आग्रह गरेको छ। मोर्चाले   विधेयक पास गराउन सहयोग गर्ने निर्णय गरेको छ।

Leave A Reply

Your email address will not be published.